दमक, साउन २२ । जनताका साझा मुद्धा समाधान गर्नका लागि सम्पूर्ण राजनैतिक दलहरु एक ठाउँमा उभिनु पर्ने नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् ।

नेपाल किसान महासंघ कोशी प्रदेशको आज दमकमा भएको प्रथम अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता सिटौलाले अहिलेसम्मको आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै नेपाली जनतालाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिनुपर्ने बताए ।
खेतीपाती गर्ने किसान घाटामा जान नहुने भन्दै उनले किसान घाटामा जान लागे उनीहरुलाई नाफामा पु¥याउने दायित्व सरकारको भएको बताए । नेपालको वर्तमान संबिधानले पनि कृषक घाटामा जान नहुने कुराको सुनिश्चितता गरे पनि त्यहाँ पुग्नका लागि सबै दलहरुविच सहकार्य आवश्यक रहेको उनले बताए ।
नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि कांग्रेस केन्दी्रय सदस्य राजिब ढुंगानाले अहिले निर्वाहमुखी खेती भैरहेको भन्दै यसलाई ब्यवसायीमुखी बनाउने दायित्व सरकारको भएको बताए । नेपाल कृषिप्रधान देश भनिए पनि त्यस अनुसारको नीति निर्माण हुन नसक्दा कृषि पेशा हेलाको पेशा बनिरहेको उनले बताए । त्यसैगरी कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले कृषकका मुद्धा उठाउने पार्टी नेपाली कांग्रेस मात्रै भएको दावी गरिन् । कांग्रेस संस्थापक नेता बीपी कोइरालाले कृषकलाई हेरेर नै पार्टी स्थापना गरेको भन्दै उनले अहिले पनि बीपीको त्यो परिकल्पना साकार नभएको बताइन् । त्यसैगरी पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले कृषिप्रधान मुलुक भनिए पनि बिदेशबाट खाद्यान्न ल्याउनु पर्ने बाध्यता रहेको भन्दै त्यसलाई अन्त्य गर्नु पर्ने बताए ।
अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो, झापा जिल्ला सभापति देउकुमार थेवे, सुनसरी जिल्ला सभापति केदार भण्डारी, कांग्रेस झापा क्षेत्र नम्बर क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नेपाल किसान महासंघ केन्द्रीय सदस्य सिताराम भट्टराई, भोजपुर अध्यक्ष इन्दिरा प्रधान, ताप्लेजुङ अध्यक्ष भिमबहादुर गुरुङलगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।