झापा, साउन २३ । झापाको दमकमा लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् ।

गएराति १० बजे दमक नगरपालिका वडा नं. ४ चियादोकान बस्ने पासाङ तामाङको घर कोठामा ब्राउनसुगर बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरमा तलासी लिँदा प्लाष्टिकसहित ११ ग्राम ३९० मिलिग्राम र प्लाष्टिकबाहेक ३ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
सो लागूऔषधसहित पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं.४ चियादोकान बस्ने पासाङ तामाङकी श्रीमती २६ वर्षीया शितल भन्ने ज्योती राई तामाङ , कमल गाउँपालिका ५ पाथिभरा टोल बस्ने २७ वर्षीय संजिब लिम्बू , सोही ठाउँका १८ वर्षीय बसन्त राई र कमल ४ शितल टोल बस्ने १८ वर्षीय सन्दिप धिमाल रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।