कचनकवल, साउन २३ । कचनकवल गाउँपालिकाको आयोजना तथा मेची आँखा अस्पताल, बिर्तामोडको सहकार्यमा एकदिने आँखा स्वास्थ्य शिक्षा तालिम हिजो सम्पन्न भएको छ।

तालिममा गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।कार्यक्रमको उद्देश्य ६ देखि १८ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरूको निःशुल्क आँखाजाँच, चश्मा वितरण तथा उपचार कार्यक्रमको पूर्वतयारीस्वरूप शिक्षकहरूलाई आवश्यक जानकारी तथा अभिमुखीकरण प्रदान गर्नु रहेको थियो।

तालिममा मेची आँखा अस्पतालका प्रशिक्षक युवराज बोहोरा र पुष्पप्रसाद अधिकारीले आँखा स्वास्थ्य, बालबालिकामा देखिने सामान्य समस्या, रोकथामका उपाय, शिक्षण विधिलगायतका विषयमा प्रस्तुति दिएका थिए।

कार्यक्रमले बालबालिकाको आँखासम्बन्धी समस्याको पहिचान, उपचार तथा रोकथाममा विद्यालयस्तरमै पहल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। मेची आँखा अस्पताल र कचनकवल गाउँपालिकाले साझेदारीमा यस्ता सामाजिक स्वास्थ्य कार्यक्रमहरू अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रमको समापनमा सहभागी प्रधानाध्यापक तथा शिक्षकहरूले तालिम उपयोगी तथा ज्ञानवर्धक रहेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई , प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले तालिम सफलतापूर्वक सम्पन्न गर्नमा सहकार्य गर्ने मेची आँखा अस्पताल परिवार, प्रशिक्षकद्वय, सहभागी शिक्षकहरू तथा सम्पूर्ण सहयोगी पक्षप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्