श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेष गरी सनातन हिन्दू धर्ममा आस्था राख्नेहरूको विशेष पर्व हो। यस पर्वमा ब्रह्म सूत्रधारीहरूले पवित्र नदी, तलाउ, पोखरी, जलाशयमा गई पूजा सामग्री, जौं, तिल, गाईको गोबर, माटो, भष्म, कुश, दूबो, दतिउँन आदि सामग्री प्रयोग गर्दै विधिपूर्वक स्नान गर्दछन्। गोमय, मृत्तिका, भष्मको प्रयोग गर्दै गरिने स्नानलाई गणस्नानका साथै श्रावणीस्नान पनि भनिन्छ। प्रातःकालीन स्नानपछि गुरु–शिष्यसहित समाजमा रहेका व्यक्तिहरूको सामूहिक सहभागितामा यज्ञोपवीत ÷ जनै तथा रक्षाबन्धन ÷डोरोको विधिपूर्वक वैदिक तथा पौराणिक मन्त्रहरूद्वारा पूजा गरिन्छ।

कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनैको त्यान्द्रोलाई किन यति धेरै प्राथमिकता दिइन्छ भन्ने प्रश्न उठाइन्छ र उठाइनु पनि स्वाभाविक नै हो। तर यसलाई भौतिकवादी दृष्टिले हेर्दा यसको महत्व सोचेजस्तो त्यति कमजोर भने छैन।

धार्मिक तथा वैज्ञानिक महत्वका साथ हेर्ने हो भने यसको गरिमा र महिमा विशाल छ। यहीं विशेषण र विशेषता बोकेको सूत्र ÷ धागोमार्फत निर्माण गरिएको जनैको विशेष महत्व छ। समाजमा रहेका सबै तह र तप्काका सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने अनुयायीहरूलाई एकै सूत्रमा बाँध्ने पवित्र पर्व नै जनै पूर्णिमा हो। यज्ञोपवीतलाई किन यति महत्ब दिइन्छ ,यसको महानताका सम्बन्धमा हाम्रो प्राच्यविधाले धार्मिक र वैज्ञानिक आधारमा कसरी वर्णन गरेका छन् भन्ने विषय यहाँ प्रस्तुत गरिन्छ।
जनै ÷यज्ञोपवीतको परिभाषाः–
यज्ञो वै विष्णुः।
यज्ञाख्यः परमात्मा य उच्यते चैव होतृभिः।
उपवीतं ततोक्स्येदं तस्माद् यज्ञोपवीतकम् ।।

यज्ञ =यज्ञद्वारा संस्कार गरिएको, पवित्र पारिएको।
उपवीत =परिधानीय प्रकार सूत्र विशेष धागो ÷जनै, भगवान विष्णुको प्रतीक। अग्निका उपासक होताहरूले यज्ञ पुरुषका रूपमा भगवान विष्णुलाई लिएका छन् भने त्यहीं यज्ञबाट संस्कार गरिएको उपवीत ÷ सूत्र विशेषलाई यज्ञोपवीत ÷ जनै भनेका छन्।

सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनात् ।
तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम् ।।

ब्रह्मज्ञान र वेद प्रतिपादित विषयको द्योतक ÷सूचक जुन सूत्र छ त्यो नै ब्रह्मसूत्र ÷ जनै हो।
वेद चार र गायत्री मन्त्र चौबीस अक्षरले गुणा गर्दा आउने ९६ संख्याको समूह र तिथि, बार, नक्षत्र, तत्व, वेद, गुण, काल र मासको पूर्ण संख्या ९६ फन्कालाई ब्रह्मसूत्रको आधार मानिएको छ।

तिथिर्वारश्च नक्षत्रं तत्ववेदगुणान्वितम्।
कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम् ।।
तिथि – १५
वार – ७
नक्षत्र – २७
तत्व – २५
वेद – ४
गुण – ३
काल – ३
मास –१२
= ९६
९६ संख्या हातको चार औंलाको मूल भागमा दुई डोराले युक्त ९६ फन्का बेर्दा यी माथिका छयानब्बे नाम उच्चारणका साथ आधान गर्नु पर्दछ। उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नु पर्ने हुन्छ। यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा ९ डोराको हुन पुग्दछ। यी ९ डोरामा ॐकारादि गरिएका नौ वटा देवताहरूको आह्वानपूर्वक पञ्च शिखामा ब्रह्मादि गरिएका देवताहरूलाई न्यास गरिन्छ।

जनैको लम्बाईका बारेमा वामस्कन्धदेखि नाभि ÷ नाइटो हुँदै कटि÷कम्मरसम्मको हुनु पर्दछ। लामोमा कम्मरभन्दा तल र छोटोमा नाभिभन्दा माथि हुनु हुँदैन।

प्रातःकालीन समयमा यी माथिका प्रकृयाहरूलाई आत्मसात गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन पुग्दछ। सबै शक्तिहरूले बास गर्ने परम पवित्र यज्ञोपवीत आफैंमा सिद्ध छ।

देवताहरूले पनि धारणा गर्ने सर्वशक्तिमान जनै र डोराको अभिमन्त्रण जनै पूर्णिमाका दिन अरुन्धतीसहित कश्यपादि सप्त ऋषिहरूको पूजा, रुद्राभीषेक, ऋषि श्राद्ध देवता, गुरु र स्वपितृहरूलाई यज्ञोपवीत दान गरिन्छ।

“ स्वाध्यायोक्ध्येतव्य” वर्षभरि स्वाध्याय गरिएका वेदादि मन्त्रहरूको पुनरावृत्ति गर्दै अध्यायोपाकर्म गरिन्छ। माथि बताइएका देवताहरूको पूजा गर्दै विभिन्न अनुष्ठान पुरा गरिन्छ। यसरी विधिपूर्वक बनाउनुका साथै मन्त्रण गरिएको जनै लगाउनका लागि तयार हुन्छ।
यज्ञोपवीतं परमं पवित्रं
प्रजापतेर्यत् सहजं पुरस्तात् ।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं
यज्ञोपवीतं बलमस्तु तेजः।

प्रजापतिद्वारा निर्माण गरिएको यज्ञद्वारा पवित्र पारिएको यज्ञोपवीत ÷ जनै धारणा गर्दछु । जसबाट मलाई आयु, विद्या, मेधा, यश, बल आदि सामथ्र्य प्राप्त हुन्।
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वं प्रतिबध्नामि रक्षेमा चलमा चल।।

भगवान वामनले सत्यताका लागि वाणीरुपी ( तीन पाउ जमिनका माध्यमबाट ) सूत्र ÷बन्धनद्वारा दानवका बलशाली राजा बलिलाई जसरी बाँध्नु भएको छ, त्यसैगरी यो रक्षासूत्रद्वारा तिमीलाई पनि बाँध्छु सदा – सर्वदा तिम्रो रक्षा तीनै वामनले गरून्।

श्रावण महिनामा जंगलमा रहेका जडीबुटीको चरनमा रहेका गाईको गोबर शरीरमा लेपन गर्नाले सबै रोगको निदान हुन्छ। यज्ञीय समिधाको भष्म, चोखो माटो लेपन गर्नाले पञ्चतत्वबाट प्राप्त हुने आवश्यकीय ऊर्जा शरीरले ग्रहण गर्न पुग्छ। आयुर्वेदका अनुसार महाऔषधीको रुपमा रहेका कुश, दुबो अपामार्ग ÷ दतिवनको प्रयोगले आरोग्यता प्राप्त गर्न सकिन्छ । सर्वजन हिताय सर्वजन सुखायका रुपमा रहेका चाडपर्व हाम्रा अमूल्य साँस्कृतिक निधी हुन्, यिनीहरूमा रहेका अति विशिष्ट पक्षको पहिचान र प्रयोग हुनु मानव कल्याणका लागि उत्तम विषय हुन आउँदछ।

जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाउनु पर्छ।
यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।

पुरानो जनै त्याग गर्ने मन्त्र
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

पुरानो जनै त्याग्ने निर्णय
सूतके मृतके चैव गते मासचतुष्टये ।
नवयज्ञोपवीतानि धृत्वा जीर्णनि संत्यजेत् ।।

यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो,यो विद्याको चिन्ह र यज्ञको भेषभूषा हो ।शिक्षा ग्रहण गर्नुपूर्व यज्ञोपवीत धारण गरी मर्यादित शिक्षा ग्रहणको शुभारम्भ गर्ने चलन थियो । सिधा भन्दा स्कुल भर्ना गर्न योग्य मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण,कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी, महाराजा जनक,माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा,माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति,सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण आदि सबै हामीले मान्ने भगवान तथा नरनारीहरूले जनै धारण गर्दथे । जब देवदेवीदेखि लिएर लोकको नरनारीसम्मले जनै लगाउने प्रचलन थियो भने स्त्रीले जनै धारण गर्नु हुन्न भन्नु सरासर गलत हो । जनै ब्रहृमचार्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहँदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम सन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । भगवान गौतम बुद्धले समेत सन्यास ग्रहण गर्नुपूर्व शिखा (टुप्पी) र जनै त्याग गरेको शास्त्रीय प्रमाण छन् । जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छ । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छ, मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो झोले वा दुरात्मा बन्दछ । जनैका पवित्र तन्तुमा नौ देवहरू अवस्थित रहन्छन् ।
जस्तैः
ओङ्कारः प्रथमे तन्तौ द्वितीयेग्निस्तथैवच ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।
पञ्चमे पितृदैवत्यं, षष्ठे चैव प्रजापतिः ।
सप्तमे मरूतश्चैव अष्टमे सूर्य एवं च ।।
सर्वे देवास्तु नवमे इत्येतास्तन्तु देवताः ।।

पहिलोमा ओंकार, दोश्रोमा अग्नि, तेश्रोमा अनन्त,चौथोमा चन्द्रमा, पाचौंमा पितृगण, छैटौंमा प्रजापति,सातौंमा वायु, आठौमा सूर्य र नवौ सूत्रमा सबै देवता प्रतिष्ठित छन् ।जनै धारण गर्ने व्यक्तिले जनैका सूत्रहरूमा स्थित नौ देवहरूसंग सम्वन्धित रहेका निम्न लिखित गुणहरूलाई आफूभित्र धारण गर्नुपर्दछः

ओंकार – एकत्वको प्रकाश, ब्रहृमज्ञान ।
अग्नि –तेज, प्रकाश, पापदहन ।
अनन्त –अपार धैर्य र स्थीरता ।
चन्द्रमा –मधुरता, शीतलता र सर्व प्रियता ।
पितृगण –आशिर्वाद, दान र स्नेह ।
प्रजापति –प्रजापालन, प्रेम र सौहार्द ।
वायु –पवित्रता, बलशालिता र धारण शक्ति
सूर्य –गुण ग्रहण, नियमितता, प्रकाश
अन्धकारनाश र मल शोषण ।
सर्वे देवता –दिव्य र सात्विक जीवन ।

हाम्रा मौलिक पर्वका विशेषताको व्याख्या गर्न कठिन छ , सनातन धर्म आस्था विचारको पुनर्जागरण गरि जनजनमा पुर्याउन जरुरी छ । सनातन धर्मभित्र रहेका अनेकौ पर्वको विविधता नै सनातन धर्मको एकता नै हाम्रो गौरव हो ।
आजको दिन विश्व संस्कृत दिवस पनि हो सन १९६९ देखि संस्कृत दिवस मनाउँदै आएको पाइन्छ ।विश्वका भाषामध्ये धेरै भाषाको जननी संस्कृत भाषा भएको हुँदा संस्कृत भाषाप्रति आजको दिनमा कृतज्ञता र सम्मान गरि विभिन्न धार्मिक सांस्कृतिक , संघ संस्था गुरुकुल आदिमा भव्यरुपमा मनाउँदै आइएको छ ।राष्ट्रिय हिन्दु एकता मञ्च नेपालले स्थापना कालदेखि नै यस दिनलाई संस्कृति दिवस मनाउँदै आएको छ । संस्कृतबाट प्रवचन गरि संस्कृत भाषाको महत्वका बारेमा दर्शाइने गरिन्छ ।

नेपालको लागि बिडम्बना नै भन्नु पर्छ हाम्रा मौलिक संस्कार ,संस्कृति भाषा लिपि परम्परा आदि राम्रा हुँदाहुँदै पनि छायाँमा पारिएको छ ।शासन व्यवस्था परिवर्तनका नाममा जब २००९ सालमा वामपन्थी विचार बोक्नेहरुको प्रगतिशील लेखक र २०१० सालमा त्यसलाइ काउन्टर दिन नेपाली काँग्रेस समर्थकको लेखक संघ स्थापना भयो, त्यसपछि आ–आफ्ना पार्टीका विचार बोक्दै परिवर्तनका नाममा हाम्रा मौलिक संस्कार संस्कृति विरुद्ध नै लागिपर्दै बुर्जुवा भन्दै ओझेलमा पारियो । पछिल्लो पिढीका युवाहरु हाम्रा अथाह ज्ञान पद्धति आचरण अनुशासन आदिबाट वञ्चित हुन पुगे र धर्म संस्कृतिको महत्वलाई ओझेलमा बनाइयो । देश केवल भूगोल माटोले मात्र हुँदैन , देशको पहिचान हुन्छ, आस्था हुन्छ, मौलिक संस्कार संस्कृति हुन्छ भन्ने हेक्का नभएका कारण व्यवस्थासँग तुलना गरि मौलिकता विरोधीहरुको स्थापना हुँदा यो अवस्था आयो। तर आज बिस्तारै चेतनाको दीप प्रज्ज्वलित हुँदै विभिन्न विद्वानहरुबाट कलम चलाउन थालेपछि एक किसिमले जागरणको सुरुवात भएको छ भने कतिपयले त आज पनि मौलिकता परम्पराको कुरा सुन्न पनि रुचाउँदैन ।यसलाई पुनर्जागरण गर्न राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल र चेतना साहित्य समाजले हरेक संस्कार संस्कृति पर्व मौलिकतासँग गाँसिएका सबैलाई एकीकृत गर्दै जागरणमा एक इटा थप्ने काम गर्दै आएको छ ।

हामीले यदि नेपालका ॐ कार परिवारभित्रका स्वधर्म संस्कार , संस्कृति भाषा लिपि ग्रन्थ आदि पुनर्जागरण गर्न सके नेपाल विश्वगुरु देशको रुपमा परिचित हुने छ । विश्वका करिव तीन अरव ॐ कार परिवारको तीथ स्थल बन्ने छ । विश्वमा एक मात्र तपोभूमि वेदभूमि नेपाल हो भने अन्य देशहरु भोगभूमिमात्र हुन् । त्यही भएर नेपाललाई मात्र नेपाल आमा भनेर पुकारिन्छ , तप ध्यान साधना गर्न नेपालको हिमवतखण्ड भूमिलाई रुचाउने नेपाली माटोमै गरेको साधना मात्र सिद्ध हुन्छ भन्ने गरेको हो ।

त्यसैले हामी सबै जागौ ,उठौ , हाम्रा पर्वको महिमा जनजनमा पुर्याऔं संस्कृत दिवस एवम जनै पूर्णिमाको हार्दिक शुभकामना । जय सनातन धर्म , जय चेतना साहित्य समाज ।ॐ ॐ ॐ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्