बिर्तामोड, साउन २४ । सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा बिर्तामोडका दुई युवाको मृत्यु भएपछि यहाँका सुनचाँदी व्यवसायीहरु शोकाकुल भएका छन् ।

आज बिहान ११;२० बजे इटहरी उप–महानगरपालिका वडा नं.२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को २२ प २१२५ नं. को स्कुटर र इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. १ –०२–००२ ख ०४५५ नं. को बस एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटर चालक बिर्तामोड ५ बस्ने वर्ष अन्दाजी २६ का सुजन बि.क. र पछाडि सवार बिर्तामोड ५ कै बर्ष अन्दाजी २२ का सुरज बि.क. को मृत्यु भएको हो । दुबै घाइतेलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएकोमा उपचारका क्रममा १२;३० बजे दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काका भतिजा सम्बन्धमा रहेका उनीहरु चतराबाट फर्किदै गरेको बताइएको छ । मृतकहरुको शव घोपामा रहेको र आफन्तहरु आइपुगेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । स्कुटर , बस र बस चालक उदयपुर बेलका ३ बस्ने २९ वर्षीय प्रेम मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
बिर्तामोड र मोरङको बेलवारीमा सुनचाँदीको काम गर्ने सुजन र सुरजको मृत्युले बिर्तामोडका व्यवसायीहरु शोकाकुल बनेको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराईलीले बताएका छन् ।