बिर्तामोड, साउन २५ । बिर्तामोडमा रात्रिकालीन बजारको माग भइरहेका बेला वडा नं ३ को बिर्ताबजारमा दशैअगाडि रात्रिकालीन बजार संचालन गरिने भएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा अनारमनी सोसियल युथ क्लबद्वारा रात्रिकालीन बजार सञ्चालन गर्ने तयारी गरिएको हो । अनारमनी पव्लिक क्याम्पस अगाडिको बाटोमा रात्रिकालीन बजार लगाउने गरी तयारी भइरहेको छ । क्याम्पस अगाडि भित्तेचित्र, सरसफाई अभियान, बिजुली बत्ती जडान गरिसकिएको छ भने ६ वटा ठेला बनाइएको छ।
वडा कार्यालयका जनप्रतिनिधि , आयोजक क्लब र बिर्ताबजार बजार व्यवस्थापन समितिका प्रतिनिधि गरी पाँच सदस्यीय समिति बनाएर रात्रिकालीन बजार संचालन गर्ने तयारी भइरहेको वडा अध्यक्ष मदन बुढाथोकीले बताए । उनले रात्रिकालीन बजारमा आउन चाहने व्यवसायीका लागि विभिन्न मापदण्ड बनाइएको जानकारी दिए । फास्टफुड परिकारका व्यवसाय रहने सो बजार साँझ ४ बजेदेखि राति १० बजेसम्म संचालन हुने बताइएको छ ।