झापा,साउन २५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

आज बिहान उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् । केही दिनअघि उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए .
दुई शीर्ष नेतासँगको भेटमा प्रदेशका मन्त्री फेरबदलका विषयमा छलफल भएको थियो । यद्यपि मुख्यमन्त्री कार्कीले समग्र परिस्थितिको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन् । राजनीतिक विषयमा गफगाफ भयो,’ उनले भने, ‘सरकारका कामकाजका बारेमा रिपोर्टिङ पनि ।’
देउवासँगको भेटको विषयमा उनले भने, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि प्रदेशको समग्र परिस्थितिका विषयमा जानकारी गराए ।’
स्रोतका अनुसार मन्त्रीमण्डल फेरबदलको विषयमा केपी ओलीले सल्लाह गरेर भनौंला भनेका छन् । देउवाले त्यही जवाफ दिएका थिए ।
मुख्यमन्त्रीले भेटघाटका सबै विषय प्रष्ट रुपमा बताउन चाहेनन् । तर दुवै नेतासँगको भेटमा प्रदेशको मन्त्रीमण्डल परिवर्तनको विषयमा छलफल भएको स्रोत बताउँछ ।
‘कोलिसन पाटनरसँग कुरा नभई त्यस्तो कुरा टुंगिदैन । प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँग कुरा भयो, माथिबाट कुरा नआइकन मन्त्री फेरिदैनन’, स्रोतले भन्यो, ‘यहाँको स्थीति रिपोर्टिङ भएको छ । अब उहाँहरुले सल्लाह गरेर भन्नुहुन्छ, हेरौं केही दिन ।’
मुख्यमन्त्री निकट स्रोतका अनुसार बागमती प्रदेशमा देखिएको विवादका कारण शेरबहादुर देउवाले कोशीमा केही समय मन्त्री फेरबदल रोक्न लगाएका छन् ।