झापा,साउन २५ । अन्तिम संस्कारका लागि लगिएको शवबाट हड्डी निकालेर बेचिएको छ।

सुन्दा पनि डरलाग्दो लाग्ने घटना पशुपति आर्यघाटमा घटेको हो।
पशुपति आर्यघाटमा जलाउन लगिएको व्यक्तिको जल्दाजल्दै अवस्थामा खुट्टाको हड्डी निकालेर बिक्री भएको छ। शवबाट हड्डी निकालेर बेचेको आरोपमा प्रहरीले घाटे बाहुन गणेश ढकाललाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका सहायक प्रवक्ता कुलदिप चन्दका अनुसार बनेपा ८, काभ्रेका ६५ वर्षीय राम शाहीको मृत्यु पश्चात् गत शुक्रबार पशुपति आर्यघाटमा जलाउन ल्याइएको थियो। उनको शव जल्दाजल्दै ढकालले शवबाट खुट्टाको हड्डी निकालेको मृतकका आफन्तले देखेका थिए। ढकालले उनीसँगै रहेका सहयोगीलाई मृतकको शवबाट निकालेको हड्डी दिएका थिए। यसका लागि उनले पाँचसय रुपैयाँ लिएका थिए। पाँचसय लिएर मृतकको हड्डी बिक्री गरेको देखेपछि मृतकका मलामी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी वृत्त गौसालाबाट गएको प्रहरी टोलीले पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै अनुसन्धान थालेको छ। प्रहरी वृत्त गौसालाका प्रमुख सुकदेव खनालका अनुसार मृतकको आफन्तले उजुरी दिएपछि नै आरोपित पक्राउ परेका हुन्। यो घटना निकै अनौठो र नौलो भएकाले गम्भीर रूपमा अनुसन्धान भइरहेको उनले बताए।
डिएसपी खनाल भन्छन्,‘आरोपित ढकालले यसअघि पनि मृतकहरुको शवबाट हड्डी निकालेर बिक्री गरेको हुनसक्ने पीडित परिवारको आरोप छ।’ यस्तो कार्य पहिलोपटक नभएर यसअघि पनि भएको थियो कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी खनालले बताए। आरोपीतले मृतकको मासु र हड्डी कसलाई दिएको ? कति पैसा लिएको हो भन्ने विषयमा केही नबोलेको उनले बताए।
प्रहरी स्रोतका अनुसार आर्यघाट छेउछाउ बस्ने अघोरी बाबालाई शवबाट मासु र हड्डी निकालेर बिक्री गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ। ढकालले अहिलेसम्म ठोस जवाफ दिएका छैनन्। उनले आफूले मासु नभएर हड्डी झिकेको बताएका छन्।
यसअघि पनि शवबाट मासु निकाल्ने र मान्छेको मासु पनि खाने समूह भएको भन्ने अपुष्ट हल्ला फैलिरहेकै हुन्थ्यो। यही हल्लालाई पुष्टि गर्ने गरी पशुपति आर्यघाटमा शवको मासु बिक्री हुने धन्दा सार्वजनिक भएको हो। यस्तो कसुरमा के कस्तो सजाय गर्ने भन्ने कुनै कानुन नभएकाले पक्राउ परेका ढकाललाई अभद्र व्यवहार कसुरमा म्याद थप गरेर अनुसन्धान गरिने काठमाडौं प्रहरीका सहायक प्रवक्ता कुलदिप चन्दले जानकारी दिए।