झापा, साउन २५ । देशभरि विद्युत चुहावट बढ्ने क्रममा नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रमा पनि विद्युत चुहावट बृद्धि भएको छ ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा चुहावट बढेको हो । आर्थिक वर्ष २०७९–०८० मा अनारमनी वितरण केन्द्रमा १२.५३ प्रतिशत विद्युत चुहावट रहेको थियो । आर्थिक वर्ष २०८०–०८१ मा त्यसलाई कम गर्दै १०.४५ प्रतिशतमा झारिएको थियो । तर, गत आर्थिक वर्ष २०८१–०८२ मा विद्युत चुहावट १३.२३ प्रतिशत पुगेको हो । अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्षमा अनारमनी ग्रीडसंग १८ करोड ८६ लाख ६६ हजार ४२२ युनिट खरिद गरेकोमा १६ करोड ३६ लाख २७ हजार ५७१ युनिटमात्र उपभोक्ताहरुलाई बिक्री गरेको देखिन्छ । जसबाट वितरण केन्द्रले १३.२३ प्रतिशत घाटा बेहोर्नुपरेको हो । गत आर्थिक वर्षमा अनारमनी वितरण केन्द्रले १ अर्ब ५५ करोड २३ लाख ७५ हजार ४६७ रुपैयाँको विद्युत बिक्री गरेको वितरण केन्द्र प्रमुख संजिवकुमार शाहले बताए ।

अनारमनी वितरण केन्द्रले चुहावट नियन्त्रण अभियान थालेको छ । गत आर्थिक वर्षमा ५८ जनालाई कार्वाही गरिएको कार्यालय प्रमुख शाहले बताए । चुहावट गरेको १९ हजार ९२२ युनिटबाट १ लाख १३ हजार ८९३ रुपैयाँ जरिवाना असुल गरिएको उनले जानकारी दिए । चुहावट नियन्त्रण गर्न सिंगल फेज ५५३ वटा बदली गरिएको थियो भने थ्रीफेज ४९ वटा बदली गरिएको थियो । औसत विली वापत ३ लाख ५१ हजार ८२६ युनिट उठ्दा ३० लाख ५७ हजार ६३५ रुपैयाँ असुल भएको कार्यालयले जनाएको छ । विद्युत चुहावट नियन्त्रण गर्न घनावस्ती तथा बजारका केही ठाउँहरुमा एबीसी केबल जडान गर्नुपर्ने देखिएको कार्यालय प्रमुख शाहले बताए । ग्रामीण क्षेत्रमा हुकिङ गरेर विद्युत चोरी गर्ने क्रम अझै भेटिन्छ भने बाइपास गरेर विद्युत चुहावट धेरैले गरिरहेका छन् ।

अनारमनी वितरण केन्द्रअन्तर्गत ९७ हजार २८४ ग्राहक रहेका छन् । त्यसमध्ये गार्हस्थतर्फ ७९ हजार ९३ , औद्योगिकतर्फ १ हजार ३१७ , व्यापारिकतर्फ ८९४ र अन्यतर्फ १५ हजार ९८० रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्