झापा, साउन २६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

आज बिहान ७.१५ बजे भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङ दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा विङगरमा सवार एक महिलासहित ३ जनाको मृत्यु भएको हो।

घाइते तथा मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। घाइतेहरूलाई उपचारको लागि सुनसरी र मोरङको विभिन्न अस्पतालमा पठाइएको खतिवडाले जानकारी दिए ।

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ बस्ने वर्ष ३६ को गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।घटनास्थलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट प्रहरी नायब उपरीक्षक सरोज सिंह समेतको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्