झापा, साउन २६ । ताप्लेजुङमा साना तथा लघु उद्योगको संख्या तीन हजार नाघेको छ ।

बर्सेनि नयाँ उद्योगहरु थपिने क्रमसँगै हाल साना तथा लघु उद्योगको संख्या तीन हजार नाघेको हो ।
ताप्लेजुङ घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हालसम्म साना तथा लघु उद्योगको संख्या कुल तीन हजार १९४ पुगेको छ । हालसम्मको कुल संख्यामध्ये साना उद्योगतर्फ दुई हजार ३१५ र वाणिज्यतर्फका ८७९ वटा उद्योग रहेको घरेलु कार्यालयले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी एवम् उद्यम विकास सहजकर्ता नवीन भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा मात्र ९२ वटा नयाँ उद्योग दर्ता अर्थात थप भएका छन् । कृषि तथा वनजन्य ४९ वटा, पर्यटनसम्बन्धी १६, सेवामुलक १५, निर्माणसम्बन्धी सात, उत्पादनमुलक तीन र सूचना प्रविधिमुलक दुई वटा नयाँ उद्योग दर्ता भएको भट्टराईले जानकारी दिए ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उद्योगसँगै उद्यमीको संख्या पनि थपिँदै गएका छन् । गत आवमा ९२ वटा विभिन्न नयाँ उद्योग थप हुँदा ताप्लेजुङमा १०३ जना उद्यमी थपिएका छन् । साना तथा लघु उद्योग सञ्चालनका लागि ५३ पुरुष र ५० महिला जना उद्यमी थप भएका घरेलु कार्यालयले जनाएको छ । नयाँ उद्योग दर्ता भएसँगै ती उद्योगहरु सञ्चालनका लागि एक करोड ७६ लाख रुपियाँ बराबरको पुँजीसमेत थप भएको घरेलु कार्यालयले जनाएको छ ।
जिल्लामा साना तथा लघु उद्योगको संख्या वृद्धि हुँदै गएसँगै गत आवमा मात्र ४१७ जनाले विभिन्न रोजगारी पाएको उद्योग कार्यालयले जनाएको छ । उद्योग कार्यालयका अनुसार साना तथा लघु उद्योगमार्फत रोजगारको माध्यम सिर्जना भई गत आवमा २३० पुरुष र १८७ जना महिलाले रोजगारी प्राप्त गरेका हुन् ।
यता साना तथा लघु उद्योगका सञ्चालकलाई घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न सहयोगसमेत गर्दै आएको छ । घरेलु कार्यालयले उद्यमीका लागि सीप तथा तालिम प्रदान गर्नुका साथै प्रविधिजन्य सामग्रीहरु उपलब्ध गराई सहयोग गर्दै आइरहेको छ । गत आवमा मात्र ६१ जनालाई उपयुक्त प्रविधि सहयोग र ३१७ जना उद्यमीलाई विभिन्न सीपसम्बन्धी तालिम प्रदान गरिएको घरेलु कार्यालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।