झापा,साउन २६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मिटारमा पहिरोले सडक पुरेपछि खोटाङ– भोजपुरबाट काठमाडौं जाने यातायात प्रभावित भएका छन् ।

सोमबार बिहान पहिरोले सडक पुरेपछि खोटाङ देखि काठमाडौं,धरान– विराटनगर जाने यातायातका साधन बिचबाटोमै अलपत्र परेका छन् ।
पहिरोले मध्यपाहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयरामघाट सडको च्यास्मिटार सडकखण्ड पुरेका कारण यातायातका साधन सञ्चालनमा अवरोध पुगेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन खोटाङका सचिव रन्जन खडकाले बताए । सडक नखुलेका कारण सयौं यातायातका साधन बिचबाटोमा अलपत्र परेको उनले बताए ।
विभिन्न जिल्ला र भारतबाट हलेसी महादेव मन्दिरको दर्शन गर्न आएका तिर्थयात्री पनि घर फर्कन पाएका छैनन् । पहिरोले भोजपुरबाट काठमाडौं जाँदै गरेका यातायातका साधन पनि अलपत्र परेका छन् ।
पहिरो पन्साउन दुईवटा जेसीभी प्रयोग गरिएको भएपनि पन्छाउन सकिएको छैन । सडकमा ठूल्ठूला ढुंगा खसेका कारण पहिरो पन्साउन समस्या भएको इलाका प्रहरी कार्यालय हलेसिका प्रहरी निरीक्षक हेमन्त राईले बताएका छन् । उनले पहिरो पन्साउन जेसिभीसहित प्रहरी परिचालन गरिएको बताए ।