झापा, साउन २७ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले आफूलाई दोषी करार नगरिएको दाबी गर्दै उनले पदलाई भन्दा प्रश्नलाई माथि राखेर राजीनामा दिएको बताए ।

संघीय निजामती विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच शक्ति प्रदर्शन झेल्नुपरेको उनको भनाइ थियो ।

कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो । आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उनले बताए । उनले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल र गहिरिएर नहेर्नु आफ्नो कमजोरी रहेको स्वीकार गरे ।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे ’कुलिङ अफ पिरियड’ को प्रावधानमा छलछाम गरेर निष्प्रभावी बनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्