झापा, साउन २७ । लागूऔषध कारोबारमा संलग्न भान्जी ज्वाइँलाई पक्राउ गर्न आएका प्रहरीलाई हतियार देखाउने भद्रपुर ५ बस्ने ५२ वर्षीय शम्भु राईमाथि मुद्धा दायर गरिएको छ ।

सोही दिन साउन २५ गते पक्राउ परेका राईलाई जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार कसूरमा ५ दिन म्याद लिई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।
साउन २५ गते दिउँसो १ बजेतिर भद्रपुर ५ बस्ने सन्तोष श्रेष्ठको घरमा लागूऔषध ब्राउनसुगरको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराबाट प्रहरी टोली खटिएको थियो । टोलीले कानुन बमोजिम खानतलासी गर्दा कालो प्लाष्टिकमा पोका पारेको सानो डल्लोमा २ ग्राम ४५०मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागूऔषधसहित श्रेष्ठलाई पक्राउ गर्न खोज्दा उनकी श्रीमती लक्ष्मी राजवंशी र मामा ससुरा शम्भु राईले अवरोध गरेका थिए । राईले हातमा खुकुरी बोकी प्रहरीको बाटो छेक्दै अपशब्द बोलेको डीएसपी खड्काले बताए । साथै सार्बजनिक स्थलमा हिड्ने महिला तथा बृद्धहरुलाई समेत आतंकित बनाएका थिए ।
अवरोध गरेपनि केही समयपछि प्रहरीले लागूऔषध कारोबारी श्रेष्ठ , उनकी श्रीमती राजवंशी र मामा ससुरा राईलाई पक्राउ गरेको थियो । मामा ससुरा राईमाथि मुद्धा चलाएपनि श्रीमतीलाई सोही दिन छोडिएको डीएसपी खड्काले जानकारी दिएका छन् ।