झापा, साउन २८ ।नेपाल कानुन ब्यवसायी परिषदको ३२ औं स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।


सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको प्रमुख आतिथ्यता तथा कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अधिवक्ता रमेश पोखरेलले गरेका थिए । न्यायाधीश ढकालले कानून ब्यबसायी परिषदले गर्दै आएको कानून व्यवसायीको परीक्षा लिई रेकर्ड राख्ने, क्षमता विकास गर्न विभिन्न कार्यक्रम संचालन गर्ने, आचारसंहिता कार्यान्वयनमा जोड दिने जस्ता कार्य अझै प्रभावकारी रूपमा गर्न आग्रह गरे । उनले कानुन ब्यवसाय पेशालाई नैतिकवान र मर्यादित बनाउन र अध्ययन अनुसन्धान गर्ने समितिसमेत बनाउनु पर्नेमा जोड दिए ।साथै बार काउन्सिलले विभिन्न देशको कानूनी ज्ञान लिन कानून व्यवसायीलाई वैदेशिक भ्रमणको अवसरका लागि ती देशसँग सहकार्य गर्नुपर्ने न्यायाधीश ढकालको भनाई थियो ।

कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, मोरङ र सुनसरीका जिल्ला न्यायाधीश, प्रदेश मुख्य न्यायाधीवक्ता एवं कोशी प्रदेशका १४ जिल्लाका बार अध्यक्ष एवं वरिष्ठ अधिवक्ता र अधिवक्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ अधिवक्ता सिताराम राई, मोरङ बार अध्यक्ष हरिशंकर मण्डल, उच्च अदालत बार विराटनगरका अध्यक्ष विश्वराम भट्टराई, इनरुवा नगरपालिका नगर प्रमुख केदार भण्डारी, झापा बारका अध्यक्ष वसन्त नेपाललगायतका वक्ताहरूले कानुन व्यवसायको महत्व, चुनौती र अवसरका बारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा आधा शताब्दीभन्दा बढी समय कानुनी सेवा दिँदै आएका वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने, उमेशचन्द्र न्यौपाने, अधिबक्ता देवीबहादुर घिमिरे तथा पूर्व पार्षद तथा वरिष्ठ अधिवक्ता माधव भट्टराई, रमेश कोइराला, भरतबहादुर थापा, प्रकाशबाबु पन्त र उद्धवचन्द्र घिमिरेलाई सम्मान गरिएको थियो।


कानून व्यवसायीको हकहितको संरक्षण गर्न स्थापित कानून व्यवसायी परिषद (बार काउन्सिल) नेपाल कानून व्यवसायी परिषद ऐन, २०५० अन्तर्गत स्थापना भएको हो। सो ऐन २०५१ साउन २७ देखि पूर्णरुपमा लागू भएकोले यस परिषदले ३२ औ स्थापना दिवस मनाइरहेको छ। परिषदको अध्यक्ष महान्यायाधिवक्ता र उपाध्यक्ष नेपाल बार एसोसिएसनका अध्यक्ष रहने यस परिषदले कानून व्यवसायमा प्रवेश गर्नका लागि परीक्षा लिने, नाम दर्ता गर्ने एवं आचारसंहिता लागु गर्ने कार्य गर्दै आएको छ।
नेपाल कानून व्यवसायी परिषदको रेकर्ड अनुसार नेपाल कानून व्यवसायी परिषदबाट प्रमाणपत्र लिएका २१ हजार ५४० जना छन् । जसमा ४ हजार २०० जना महिला छन् ।

अब, बार काउन्सिलले ३२ औ स्थापना दिवस मनाइरहँदा वकालत पेशामा भबिष्य देखेर आएका नवप्रवेशी महिला कानून ब्यवसायीहरुको हक हित, अधिकार र सम्मानमा उनीहरुको क्षमता विकासमा लाग्नुपर्ने देखिन्छ। अनि महिला कानून व्यवसायीहरूले आफ्नो अधिकार प्राप्तिका लागि संगठित रुपमा “कानुन ब्यवसायी महिलाको आवाज” बुलन्द पार्न जरुरी रहेको झापा बारकी सहसचिव एवं महिला समिति अध्यक्ष सानु कार्की बस्नेत “सिता”ले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्