झापा,साउन २८ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

उनलाई बुधबार प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलले नियुक्त गरेका हुन्। उनी धरान–२ का बासिन्दा हुन् ।
स्वास्थ्यमन्त्री प्रदिप पौडेलको सिफारिसमा डाक्टर श्रेष्ठलाई प्रधानमन्त्री ओलीले ५ वर्षका लागि प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् । सत्ता साझेदार दल कांग्रेसलाई बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र एमालेलाई पाटन र पोखराको उपकुलपतिको भगबण्डा गरिएको थियो । सोहीअनुरुप श्रेष्ठलाई कांग्रेसको कोटाबाट बीपी प्रतिष्ठानको उपकुलपति नियुक्त गरिएको हो।
श्रेष्ठले बुधबार नै प्रधानमन्त्री ओलीबाट प्रतिष्ठानको कुलपतिको नियुक्ति पत्र बुझेका छन् । नियुक्ति पत्र बुझेका श्रेष्ठले प्रतिष्ठान सुधार गर्ने तथा यहाँको स्वास्थ्य उपचार प्रभावकारी बनाउन र चिकित्सा शिक्षामा समेत सुधार गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले बीपी प्रतिष्ठानको साख बचाउन आफूले कुनै गलत काम नगर्ने पनि प्रतिबद्धता जनाएका छन् ।