झापा, साउन २९ । चारआली – केचना सडकअन्तर्गत कचनकवल गाउँपालिकाको नयाँ पेट्रोल पम्प सुक्नाडिघी अगाडि रहेको खाडल स्थानीयका लागि दुर्घटनाको स्थायी खतरा बनेको छ।

सडक निर्माणका क्रममा कल्भर्ट निर्माणको बेला खाडल छोडिएको थियो। पछि मर्मत भएपनि सडकको सतहभन्दा धेरै गहिरो बनाइएकाले पटक–पटक दुर्घटना भइरहेका छन्।
यो सडक मुख्य राजमार्गको हिस्सा भए पनि सुनसान क्षेत्र भएकाले सवारीको गति प्रायः उच्च हुन्छ। तर खाडलमा अचानक परेपछि गम्भीर दुर्घटना हुने गरेको छ। “मुख्य राजमार्ग जस्तो सडकमा यस्तो खाडल बनाउनु मृत्युको पासो थाप्नु जस्तै हो,” एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, “चिल्लो सडकमा अचानक खाल्डो आउने तथा कुनै प्रकारको खतराको चिन्ह नहुँदा चालकले नियन्त्रण गुमाएर दुर्घटना हुने गरेको छ।”
गत हप्तामात्रै एउटा मोटरसाइकल दुर्घटनामा पछाडि बसेका यात्रीको टाउको फुटेर उनलाई बीएण्डसी अस्पताल पुर्याउनुपरेको थियो। गत वर्ष फर्साडाँगीका एक व्यक्ति पनि यही खाडलमा परेर दुर्घटनामा परेका थिए।
स्थानीयको भनाइमा, सडक विभागले गम्भीरता नलिएसम्म र कसैको ज्यान नगएसम्म यो खाडल मर्मत नहुने जस्तो देखिन्छ।