झापा, साउन २९ । केही दिनदेखिको लगातार वर्षाले आएको बाढीपहिरोका कारण पूर्वमा ठूलो जनधनको क्षति भएको छ ।

झापा र इलाममा बाढीपहिरोका कारण दुईजनाको मृत्यु भएको छ भने सडक र पुल भत्किएर आवागमन अवरुद्ध भएको छ । घरनजिकै रहेको भालु खोलामा डुबेर झापा दमकका ११ वर्षीय बालकको मृत्यु भएको छ । बुधवार बिहान ७ बजे दमक वडा नं.१० बस्ने इन्द्र प्रसाईका छोरा ११ वर्षीय धर्मेन्द्र प्रसाई र सोही ठाउँ बस्ने कृष्णप्रसाद ढकालको छोरा ११ वर्षकै भुपेन्द्र ढकाल घरदेखि अन्दाजी २०० मिटर उत्तरमा रहेको भालु खोलामा पौडी खेल्न गएका थिए । त्यसक्रममा धर्मेन्द्रलाई खोलाले ६०० मिटर परसम्म बगाइरहेको अवस्थामा स्थानीयले देखेर उद्धार गरेका थिए । बालकलाई खोलाबाट निकाली उपचारको लागि निम्स अस्पताल दमक पठाएकोमा अस्पतालमा पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
उता इलाममा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । बुधवार मध्यान्ह रोङ गाउँपालिका ४ मानाबुङ बस्ने अन्दाजी वर्ष ६० का बिरबहादुर राई (कान कम सुन्ने अविवाहित) घरबाट अन्दाजी ३०० मिटर पश्चिमस्थित बाटो पैदल हिडिरहेको अवस्थामा खोल्सामा एक्कासि लेदोसहित पहिरो आई उनलाई पुरेको थियो । पहिरोले पुरिएर सोही स्थानमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
त्यस्तै इलाममा वर्षाका कारण घर भत्किँदा आमाछोरी घाइते भएका छन् । बुधवार बिहान ७.३० बजे इलाम नगरपालिका –९ गोलबस्ती बस्ने राकेश थापा मगरको टिनको छानो र इटा, माटोले बनेको दुईतले घर जीर्ण भई वर्षाको कारण भत्किएको हो । घरको दक्षिणतर्फको आधा भाग भत्किँदा सूर्योदय नगरपालिका –५ समालबुङ घर भई सोही घरमा डेरा गरी बस्ने सुकबिर लिम्बूकी श्रीमती ३५ वर्षीया भावना सुब्बा र उनकी छोरी १४ वर्षीया अनुस्का सुब्बा घाइते भएका छन् ।जिल्ला अस्पताल इलाममा उपचारपश्चात् दुवै जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
बाढीपहिरोका कारण झापा, इलाम र पाँचथरका विभिन्न सडकहरु अवरुद्ध भएका छन् ।
झापामा बाढीले गरेको क्षति
१)दुई वर्षअघि भासिएको अर्जुनधारा वडा नं ७ स्थित बिरिङ खोलाको क्षतिग्रस्त पुलको अन्दाजी २०–२५ मिटर भाग बगाएको । शनिश्चरेबाट मिलडाँडातर्फको बैकल्पिक बाटो प्रयोगमा ल्याई सवारी साधन आवागमन भइरहेको ।
२)बाह्रदशी –३ को कोनावारीको अधुवा खोला पुलमा फोहोर थुप्रिँदा पानीको बहाव अवरुद्ध भई पुल बगाउने खतरा बढेको । फोहोर सफा गरी पानीको बहावलाई सुचारु गराएको ।
३) मेचीनगर नगरपालिका– ४ को प्रकृति पार्कमा मेची खोलाको बाढीले डुबान र कटान गरी क्षति गरेको ।
इलाममा अवरुद्ध रहेका सडकहरु
१) इलाम नगरपालिका –११ सोयाङस्थित गोलाखर्कबाट बिर्तामोड निस्किने केचना– कंचनजंघा फास्ट ट्रयाक सडकखण्डमा पहिरो झरी बाटो अवरुद्ध ।
२) इलाम माई नगरपालिका–९ सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडकखण्डमा रुखसहित पहिरो झरेर बाटो अवरुद्ध ।
३) इलाम फाकफोकथुम –१ पंचेवास्थित आमचौकदेखि घुर्मिसे पंचमी हँुदै राँके– इलाम आउने भित्री कच्ची सडकमा लेदोसहितको पहिरो झरि पूर्णरुपमा बाटो अबरुद्ध ।
४) इलाम देउमाई –१ मैदानेस्थित राँके–रबि भित्री सडकखण्डमा लेदोसहितको पहिरो झरेर बाटो पूर्णरुपमा अबरुद्ध ।
पाँचथरमा अवरुद्ध रहेका राजमार्ग तथा सडकहरु
१) फालेलुङ गा.पा.५ लुदिनटार स्थित फिदिम फालोट सडकखण्डमा अवरोध रहेको।
२) मिक्लाजुङ गा.पा.३ थामथुमस्थित भित्री सडकखण्ड अवरोध रहेको।
३) मिक्लाजुङ गा.पा.३ देउरालीस्थित भित्री सडकखण्डमा अवरोध ।
४) फिदिम न.पा.–४ र हिलिहाङ गा.पा. ७ को संगमस्थल हेवाखोलामा अवरोध ।
५) याङवरक गा.पा. ३ रिजाल भीरमा पहिरो झरी मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरोध ।
६) फिदिम न.पा. १ र फिदिम न.पा.११ को संगमस्थल फेमेखोलामा पूर्णरूपमा अवरोध ।
७) फालेलुङ गा.पा. ३ र ४ को सिमानामा घुमाउनेटारस्थित हेवाखोलामा पूर्णरूपमा अवरोध ।
८) फिदिम न.पा.८ तमाखेस्थित रानीटारदेखि पौवासार्ताप जाने भित्री सडकखण्ड पूर्णरूपमा अवरोध ।



