झापा,भदौ ५ । आयातनिर्यात गरिएका वस्तुको गुणस्तर प्रमाणीकरणको दायरा फराकिलो बनाइएका कारण प्रतिकूल खाद्यवस्तु आपूर्ति घटेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न भन्सारविन्दुबाट आयात गरिएका र ती ठाउँबाट निर्यात गर्न लागिएका खाद्यवस्तुको नमुना परीक्षण गराउँदा प्रतिकूल हुने संख्या जनाएको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०८१-८२ मा ५२ हजार ९९२ खाद्यवस्तुका नमुना परीक्षण गर्दा ४१ वटा प्रतिकूल पाइए । त्यस्तै आव २०८०-८१ मा ४६ हजार ९४८ नमुना परीक्षण गर्दा ४५ वटा, आव २०७९-८० मा ४१ हजार ४५५ नमुना परीक्षणमा ५८ र आव २०७८-७९ मा ५१ हजार ७६७ वटा नमुनाको परीक्षण गर्दा ४० वटा प्रतिकूल देखिएका थिए ।
विभागका निर्देशक मोहनकृष्ण महर्जनले विभाग अन्तर्गत देशका १२ वटा भन्सारविन्दुमा रहेका खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा रहेका प्रयोगशालाले आयातनिर्यात गर्न लागेका खाद्यवस्तुको गुणस्तर परीक्षणको दायरा फराकिलो पारेसँगै प्रतिकूल नमुनाको संख्या घटेको जानकारी दिए । विभागले पाँच-छ वर्षयता आयातपूर्व नै नमुना लिएर गुणस्तर परीक्षण गरेर मात्रै आयातको अनुमति दिने गरेको छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले आयातपूर्व नै गुणस्तर परीक्षण गरेर आयातका लागि स्वीकृत दिने र आयात भएको वस्तुको पनि परीक्षण गरेर राम्रो सुरुवात भएको तर पर्याप्त नभएको प्रतिक्रिया दिए । उनले प्रयोगशालालाई समय अनुसार प्रविधि प्राविधिकसहितको स्रोतसाधनले सम्पन्न बनाउनुपर्ने बताए । उनले त्यस्ता प्रयोगशालाले १० देखि ५ बजेसम्म परीक्षण गरेर मात्रै हुँदैन भन्दै प्रत्येक दिन चौबिसै घण्टा सञ्चालन गर्ने र भित्रिएका सबै वस्तुको परीक्षण गर्ने गरी विस्तार गर्न सुझाव दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्