झापा,भदौ ५ । सहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको मन्त्रालयबाटै अनुगमन गर्न अनलाइन कक्षको शुभारम्भ गरिएको छ।

बिहीबार मन्त्रालयमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अनलाइन अनुगमन कक्षको शुभारम्भ गरेका हुन्।
अनुगमन कक्षबाट प्राथमिकतामा रहेका आयोजनामा भइरहेको गतिविधि प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। अनुगमन कक्षको शुभारम्भ गर्दै सिंहले प्रविधिको सदुपयोग गरेर आयोजनाको कार्यलाई तीव्रता दिनका लागि अनलाइन अनुगमन गर्न खोजिएको बताए। यसका साथै फिल्डमा नै गएर समेत अनुगमन गरिने उनको भनाइ छ।
सिंहले आयोजना निर्माणका क्रममा देखिन सक्ने समस्यालाई समेत समाधान गर्न सहज हुने बताए।
निरन्तरको अनुगमनपछि आयोजनाहरू समयमा नै सम्पन्न हुन मद्दत पुग्ने उनको विश्वास छ। उनले अनुगमन कक्षको अधिकतम सदुपयोग गर्न निर्देशन समेत दिए।



