बिहानको समय म पसल जानै लागेको थिएँ,बुवा धेरै दिनपछि मेरो घरमा आउनु भयो । म हर्षित हुँदै बुवालाई शिर निहुर्याएर ढोगिदिएँ । ‘सन्चै छस्’ भनेर सोध्नु भयो । मैले‘खै बुवा बिसन्चो भनौँ भने ओछ्यान परेको छैन सन्चो छ भनौँ भने मन सँधै बेचैन छ’ भनेँ ।बुवाले मेरो कपाल सुम्सुम्याउँदै भन्नुभयो ‘के गति पारेको दुब्लाइछस् त ,भात खाँदैनस् कि क्या हो?’

‘बुवा खै के भयो कुन्नि पहिलाभन्दा अलि दुब्लाएको छु,भात त खाकै छु ’भन्ने जवाफ मैले फर्काउन नपाउँदै फेरि प्रश्न गर्नु भयो ‘मेरा नाति नातिना कहाँ छन् खै देख्दिनँ त ! ’प्रत्युत्तरमा मैले भने ‘तपाईँको नातिनी सुतिरहेकी छिन् अनि नाति कलेज गएको छ ।’बुवाले आँखाभरि आँसु पार्दै भन्नुभयो ‘अहो मेरो त्यो रुन्चे नाति पनि कलेज जाने भैसकेछ,अनि नातिनी चाहिँ किन कलेज नगएकी त ?’ ‘बुवा तपाईँको नातिनीले १२ पास गरिसकेकी छिन्,अब ऊ बीएससी नर्सिङ पढ्ने रे त्यसको लागि तयारी गर्दैछिन् ’मेरो उत्तर सुन्नासाथ बुवा हर्षित मुद्रामा ‘अहो बडो खुशीको कुरा सुनाइस् माईला,अब मेरी नातिनी पनि ठुली मान्छे हुने भैछे,मेरो रहरको नातिनी कम्ति दुःखले हुर्काको छु मैले यसलाई ! माईला तेरा त छोराछोरी अब हुर्केछन् केही गर्न सकिनस् भने पनि यिनीहरुलाई उनीहरुले भनेजति चाहिँ पढा है,मैले तिमीहरुलाई पढाउन सकिनँ अब तिमीहरुको साटो पनि छोराछोरीलाई पढाओ है’ भन्दै बुवा सुतिरहेकी नातिनीको छेवैमा गएर नातिनीको खुट्टा ढोग्नु भयो ।

बर्षौपछि बुवालाई भेटाएको, बुवाको छेउमै बसेर मैले बुवालाई सोध्न लागेँ ‘बुवा यतिका बर्ष कहाँ हराउनु भएको थियो ? तपाई हामीलाई छाडेर किन जानु भएको? तपाई गएपछि मैले धेरै दुःख पाएँ,बुवा तपाईं बिनाको संसार त मेरा लागि सदैव अँध्यारो थियो, तपाईं नहुँदा म मात्र हैन मेरा छोराछोरी पनि तपाईँको अभाव महसुस गरिरहेका थिए ।’यति भनिरहँदा मेरा आँखाबाट आँसु झरिरहेका थिए,मेरो आँसु पुछिदिँदै बुवाले भन्नुभयो ‘‎हेर माईला मलाई पनि तिमीहरुलाई छोडेर जान कहाँ मन थियो र ! तर पनि नचाहँदा नचाहँदै जानु परेको थियो,मलाई थाहा छ म गएपछि तेरो के हालत भयो मैले अर्को दुनियाँबाट हेरिरहेको थिएँ,म महसुस गर्न सक्छु तेरो पीडा,तेरो मात्र हैन तेरो दाजुभाइ,दिदीबहिनी अर्थात मेरा सबै सन्तानको ।’

मलाई थाहा छ म गएपछि तेरो जीवनमा एकपछि अर्को दुःख थपिँदै गए,नातिनी बिरामी हुँदाको तेरो पीडा,त्यो बिरानो शहरमा तँ रोएको मैले देखेको छु माईला,कति दिनसम्म तँ र माईलीले खान नखाएको ! मैले सदैब भन्ने गर्थेँ म भइनँ भने सबैभन्दा बढी दुःख माईलाले पाउँछ भनेर नभन्दै त्यस्तै भयो,तेरो दुःखमा साथ कसले दियो ? तँ साथीभाइ,आफन्त टन्नै छन् मेरा भन्थिस् त ! कति जनाले तेरो दुःखमा तँलाई साथ दिए ? मैले तलाई सँधै भन्ने गर्थेँ माईला तँ अरुको लागि किन मरिमेट्छस तलाईँ भोलि पर्यो भने कसैले तँलाई गर्दैनन् तर तैँले कहिले मेरो कुरा सुनिनस् हैन ? बुवा गर्नु पर्छ नि ! आफ्नाले आफ्नालाई गरेन भने कसले गर्छ त,भोलि मलाई पर्यो भने पनि गर्छन् त भन्थिस् नि खै तेरो दुःखमा को आयो तँलाई सोध्न ?खै कसले सहयोग गर्यो तँलाई ? कोहि बिदेश जानु पर्यो रमेश,कसैलाई केही पर्यो रमेश,कसैलाई दुःख पर्यो रमेश,हरेक कुरामा तँ अघि सर्नु पर्ने तर जब तँलाई अप्ठेरो पर्यो नि सबै हराए,आज कसले तँलाई खोज्छ? हिजोका तेरा साथीभाइ तेरा नातागोता कसले खोज्छ आज तँलाई ?’ बुवा भावुक हुनु भयो ।

‎ तर पनि मलाई सम्झाउँदै भन्नु भयो ‘हेर माईला अब एक दुई बर्ष दुःख गरिस् भने तेरा पनि सुखका दिन आउँछन्,अब तेरा सुखका दिन धेरै टाढा छैनन्, जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्ने क्षमता राख्नु अलि अलि स्वार्थी बन्न पनि सिक्नु । संघर्ष गर्न मैले सिकाएको छु तिमीहरुलाई,सुखमा नमात्तिनु दुःखमा नआत्तिनु । कर्म गर्न नछाड्नु,कसैको १ रुपैयाँ नखानु । ‎मेरो आशीर्वाद सदैव रहिरहने छ मेरा सन्तानहरुलाई । नाति नातिनीले तँलाई छिट्टै सुख दिने छन् माईला,‎अन्यायको बिरोध गर्ने तेरो बानी कहिल्यै नछोड्नु ,‎सत्यको साथ र समर्थन गरिरहनु,सबैलाई समान व्यवहार गर्नु,कसैको कुभलो कहिल्यै नचिताउनु ।’ भन्दै मेरो कपाल सुम्सुम्याउँदै बुवा हराउनु भयो ।

म भने बुवा बुवा कहाँ जानुभयो अब कतै नजानु नि सँधै मसँगै बस्नु नि अहिले तपाईँको नातिनी उठेर तपाईंलाई देख्दा अनि नाति कलेजबाट आउँदा तपाईँलाई देखेपछि कति खुशी हुन्छन् होला बुवा ! बुवा, बुवा भन्दै रुँदै चिच्याउँदै थिएँ,झल्यास्स ब्युझेँछु ।ब्युझिँदा आँखाभरि आँसु थिए मेरो,अहिलेसम्मको बुवासँगको भलाकुसारी सपना पो रहेछ । यसो मोवाईलको घँडी हेरेको बिहानको ५ बजिसकेछ ।यसो बुवालाई सम्झेँ । अहो ! सपनामै भए पनि बुवासँगको भेट कति रमाईलो,बुवालाई भेट्दा त सारा समस्याको हल एकै पटक प्राप्त भए जस्तो ।

‎ ओछ्यानबाट उठेँ अनि सम्झेँ– अहो ! आज त कुशेऔशी अर्थात बुवाको मुख हेर्ने दिन पो त । अनि गदगद भएँ कि मैले त सपनामै भए पनि आज बुवाको मुख हेर्न पाएँ ।आजको यो पर्वमा बुवा साथमा नभएको पनि छ बर्ष भएछ । मन भक्कानियो बुवा आजसम्म हाम्रो साथमा भएको भए कति प्रगति गर्न सक्थेँ होला ।

मनभरि बुवाको याद बोक्दै सम्पूर्ण पिताहरुमा बुवाको मुख हेर्ने दिनको शुभकामना ! सन्तानको खुशीमा खुशी हुने र सन्तानको दुःखमा दुखी हुने एक मात्र कोहि हुन्छ भने त्यो बुवा हो । त्यसैले जिउँदो रहँदै बुवाको सेवा गरौँ । आज एकदिन राम्रो गर्ने र बाँकी ३६४ दिन बुवालाई हेला नगरौं ।सामाजिक सन्जालको भित्ता सजाउन मात्र बुवाको तस्बिर सार्वजनिक नगरौँ । मन मस्तिष्कबाट बुवाले गरेको त्याग र समर्पणलाई यथार्थमा उतारौँ । फेरि पनि सबै पिताहरुमा आजको पर्वको शुभकामना !!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्