झापा, भदौ ७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्खाको समयमा हुन सक्ने सम्भावित हवाई दुर्घटना न्यूनीकरणका लागि हेलिकोप्टर उडानमा नयाँ नीति लागु गरेको छ ।


तुलनात्मक रूपमा जोखिम बढी हुने बर्सातको समयमा हेलिकोप्टर उडान नियमन गर्दै प्राधिकरणको उडान सुरक्षा नियमन विभागले हरेक चार उडान–अवतरणपछि हेलिकोप्टरको इन्जिनलाई अनिवार्य ३० मिनेट बन्द गरेर पाइलटले आराम गर्नुपर्ने व्यवस्था लागु गरेको हो ।
विभाग प्रमुख प्रभाकरचन्द्र मल्लिकले भने, “पछिल्लो समय हुम्लाको सिमिकोट–हिल्सा क्षेत्रमा हेलिकोप्टरको ओहोरदोहोर बढेको छ । त्यहाँ हेलिकोप्टरको उडान अवतरण मात्रै बढेको छैन, मानसरोवर दर्शनका लागि जाने नेपाली र भारतीय पर्यटक बोक्ने हेलिकोप्टर कम्पनीबिच अस्वस्थ उडान प्रतिस्पर्धासमेत बढेको देखिएपछि सम्भावित दुर्घटना न्यूनीकरणका लागि नयाँ नीति लागु गरिएको छ ।”
उच्च हिमाली क्षेत्रमा नियमित लामो समय उडान गर्दा चालकको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै सिमिकोट–हिल्सा नियमित उडान गर्ने पाइलटले अब १५ दिन कम उचाइ क्षेत्रमा उडान गर्नुपर्ने वा आराम गर्नुपर्ने उनले जानकारी दिए ।
हेलिकोप्टर कम्पनीको दबाब र प्रभावमा परेर धेरै उडान गर्दा पाइलटमा थकान हुने र त्यसले उड्डयन सुरक्षामा समेत असर पु¥याउन सक्ने भन्दै नयाँ नीति लागु गरिएको उनको भनाइ छ । हिल्सा–सिमिकोट उडान असोज १५ गतेसम्म नियमित हुने गरेको छ । प्राधिकरणले बर्सातको समयमा हुन सक्ने सम्भावित हवाई जोखिम न्यूनीकरणका लागि हाल १२ हजार फिटभन्दा कम उचाइका उडानमा दुई जना पाइलट अनिवार्य गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्