झापा,भदौ ८ । बर्सेनि भइरहने रासायनिक मलको अभाव पूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मल कारखाना खोल्ने प्रक्रियालाई फेरि एक पटक अगाडि बढाएको छ ।

मन्त्रालयमातहतको नेपाल आयल निगमलाई यसका लागि प्रक्रिया बढाउन परिचालन गरेको छ । यसै प्रयासस्वरूप निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट नेतृत्वको टोली अहिले भारत भ्रमणमा छ ।
टोलीले इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा छलफल गरिरहेको छ । नेपालले प्रतिबद्धता जनाएको शून्य कार्बन उत्सर्जनको लक्ष्यभन्दा बाहिर रहने गरी खनिज इन्धनमा आधारित रासायनिक मल कारखाना खोल्न आइओसीसँग छलफलमा निगम जुटेको हो ।
भारतको गोरखपुरमा आठ वर्षदेखि रासायनिक मल उत्पादन गर्दै आएको आइओसीले दुई वर्षअघि नै नेपालमा पनि यस्तै कारखाना खोल्ने अनौपचारिक प्रस्ताव निगममा पठाएको थियो । निगमले यस्तो प्रयास गर्दैगर्दा नेपालले अनुसरण गरेको शून्य कार्बन उत्सर्जन तथा अन्य वातावरणीय मापदण्डको विषयमा भने संवेदनशील हुन आवश्यक रहेको विज्ञको मत छ ।
नेपालमा मल कारखाना खोल्ने विषयमा विगत ४० वर्षदेखि बहस अध्ययन भइरहेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइकाले) सन् १९८४ मै यससम्बन्धी अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको पाइन्छ । सो प्रतिवेदनले इलेक्ट्रोलाइसिस पद्धतिमार्फत हाइड्रोजन उत्पादन गर्न उपयुक्त हुने सुझाएको थियो ।
त्यस्तै सन् २०१५ मा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन (कर्नाटक) र शाह कन्सल्ट (आइडिइके) ले संयुक्त अध्ययन गरी प्राकृतिक ग्यास प्रयोग गरी मल कारखाना खोल्न उपयुक्त हुने सुझाएको देखिन्छ ।
लगानी बोर्डको कार्यालयले सन् २०२२ मै यी दुवै प्रतिवदेनको समसामयिक तुलनात्मक अध्ययन गरेको थियो । सो अध्ययनले प्राकृतिक ग्यासमा आधारित मल कारखाना बनाउने भए मधेश प्रदेशको ढल्केबरमा करिब चार एकड जमिनमा बनाउन सकिने सुझाएको छ । यसका लागि आवश्यक पर्ने प्राकृतिक ग्यास आयातका लागि पहिले नै पाइप लाइन बनाउनुपर्ने चुनौती देखाएको छ । खनिज इन्धनको मूल्य बढ्दै जाने र वातावरणीय स्वच्छतामा नेपालले जनाएका प्रतिबद्धताको प्रतिकूल हुने भएकाले यस्तो परियोजना निर्माण गर्न सरकार अग्रसर हुन नहुने ठम्याइ पनि विज्ञहरूको छ ।



