झापा,भदौ ८ । पाथीभरा क्षेत्र विकास समितिको बेरुजु झण्डै साढे ३६ लाख रुपियाँ देखिएको छ ।

पछिल्लो एक दशकको अवधिमा समितिको फस्र्याेट हुन बाँकी रहेको बेरुजु ३६ लाख ३९ हजार २९८ रुपियाँ देखिएको हो ।
समितिले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०७१–०७२ देखि आर्थिक वर्ष २०८०–०८१ सम्ममा उक्त रकम बराबरको बेरुजु फर्छयौट हुन बाँकी रहेको उल्लेख गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार महालेखा परीक्षकले औँल्याएको बेरुजुमध्ये केही रकमहरु फर्छयौट समेत भएका छन् ।
हाङबाङ कार्यकारी निर्देशकको जिम्मेवारी नियुक्त भएपछि ४६ हजार रुपियाँको बेरुजु रकम फस्र्याेट भएको समितिले जनाएको छ । त्यस्तै कार्यकारी निर्देशक हाङबाङको कार्यकालमा महालेखा परीक्षकले आर्थिक वर्ष ०८०–०८१ मा १८ हजार ६ सय ३ रुपियाँ बेरुजु औँल्याएको छ । गत आर्थिक वर्ष २०८१–०८२ को मलेपले परीक्षण् गर्न बाँकी रहेको छ । यस्तै सबैभन्दा बढी आर्थिक वर्ष २०७५–०७६ मा रहेको बेरुजु २६ लाख ३१ हजार ६५८ रुपियाँ फर्छयौट हुन बाँकी रहेको छ । यस्तै आव ०७१–०७२ मा ८० हजार ८४५ रुपियाँ, ०७२–०७३ मा १ लाख १२ हजार ३२२ रुपियाँ र आव ०७४–०७५ मा ४२ हजार ९ सय रुपियाँ बेरुजु फर्छयौट हुन बाँकी रहेको छ । आव ०७६–०७७ मा ६ लाख २४० रुपियाँ र ०७७–०७८ मा १ लाख ७५ हजार रुपियाँ फस्र्याेट हुन बाँकी रहेको समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यस्तै, महालेखा परीक्षकले औँल्याएको बेरुजु रकमको असुल उपर तथा हिसाब मिलान गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्