झापा,भदौ १५ । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भएको प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन)मा ६२ जना केन्द्रीय सदस्यमध्ये २७ जनाले मात्र मतदान गरेको पाइएको छ ।

केन्द्रीय सदस्यहरूले नै भोट नहालेपछि नेताहरूले आश्चर्य व्यक्त गरेका छन्। निर्वाचनमा ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यले भोट नहालेको पाइएको रास्वापाको एक विश्वस्त स्रोतले बतायो ।
मतदान मोबाइल एपमार्फत गरिएको थियो र यसका लागि भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्मको ३६ घण्टाको समय तोकिएको थियो।
सुरुमा मोबाइल चलाउन नजान्ने वा नयाँ अभ्यास भएका कारण सामान्य सदस्यहरूको मत कम आएको अनुमान गरिए पनि सबै केन्द्रीय सदस्यहरूसँग स्मार्टफोन भएको अवस्थामा उनीहरूले मतदान नगर्नुले प्रश्न खडा गरेको छ। स्रोतले यसबारेमा आश्चर्य व्यक्त गर्दै भन्यो, ’हामी पनि आश्चर्यमा छौं। यो के भएको हो, त्रुटि भएको हो कि के हो, हामी पछि भेरिफाई गर्छौं।’ केन्द्रीय सदस्यहरूले आफ्नै उम्मेदवारलाई भोट किन हालेनन् भन्ने खोजीको विषय भएको एक नेताले बताए ।
हालसम्मको अवस्थामा निर्वाचनमा लोकप्रिय मत ल्याउनेहरूमा पहिलो सूचीमा सुलभ खरेल, डाक्टर लेखजंग थापा र ज्ञानु पौडेल रहेका बनाइएको छ । यसैगरी दोस्रो लोकप्रिय मत ल्याउनेमा पाथिभेन्द्र उपाध्याय, कुसुम श्रेष्ठ र मधुप्रसाद आचार्य रहेका हालसम्मको मत संकलनमा देखिएको छ । निर्वाचनमा ९ जना उम्मेदवार छन् ।
यस विषयमा थप भेरिफाई गर्ने कार्य भइरहेको र नतिजा आजै घोषणा गर्ने तयारी रहेको बताइएको छ। सबैभन्दा धेरै मत ल्याउनेलाई रास्वपाले कात्तिक १७ को उपनिर्वाचनको टिकट दिनेछ ।
प्राथमिक निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ का पार्टी साधारण सदस्य र केन्द्रीय सदस्य गरि कुल २ हजार ७ सय ७८ मतदाता थिए । जसमा कुल १ हजार ५ सय ६७ मत खसेको थियो । मतदानमा रुपन्देही क्षेत्र नम्बर ३ का पार्टी साधारण सदस्यको अंकभार ८०, तहगत समितिको १० र केन्द्रीय सदस्यको १० अंकभार थियो ।

यसैबीच महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यबाट कम मत खसेको विषय आफूले पनि जानकारी पाएको बताए । उम्मेदवारसँग केन्द्रीय सदस्यहरुको चिनापर्ची नभएको हुनाले पार्टीमा भएकै नो भोटको व्यवस्थाअनुसार मतदानमा सहभागी नभएको हुनसक्ने उनको भनाइ छ ।

उम्मेदवार नचिनेकै कारण ’मैले दिएको भोट गलत ठाउँमा पर्छ कि’ भनेर पनि मतदानमा भाग नलिएको हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्