झापा, भदौ १६ । झापा मेचीनगरका मिलन राजवंशीले आजदेखि नेपालको सबैभन्दा होचो स्थान कचनकवल स्तम्भबाट ताप्लेजुङ्ग पाथिभरासम्म एकल साइकलयात्रा शुरु गरेका छन् ।

आज बिहान साइकलयात्री राजवंशीलाई कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–४ का वडाध्यक्ष नुरजामा मिया, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले राजवंशीलाई बिदाई गरेका छन् ।
कार्यक्रम संयोजक कर्णबहादुर राजवंशीका अनुसार सो अवसरमा कचनकवलको पहिचान झल्कने सामग्री र टी–सर्ट प्रदान गरि साइकलयात्रीलाई शुभकामना दिइएको थियो ।
राजवंशीले “छोड लागूपदार्थ, जोड साहस, बढ अगाडि निरन्तर” भन्ने नारासहित नेपालको होचो भूभागलाई चिनाउने र युवालाई कुलतबाट बचाउने सन्देश दिने उद्देश्यले साइकलयात्रा सुरु गरेको जनाएका छन् ।