बिर्तामोड , भदौ १६ । बिर्ताबजारमा धेरै खाजाघर छन् । तर, बिर्तामोड नगरपालिकाको अगाडि रहेको म्याजिक खाजाघरमै ग्राहकहरुको भीड लाग्ने गर्छ ।

आखिर किन त ? जवाफमा म्याजिक खाजाघरकी संचालिका उमा भण्डारी भन्छिन् ,‘पहिलो कुरा हामी सरसफाईमा ध्यान दिन्छौं , दोस्रो प्याकेटको मसला प्रयोग गर्दैनौं, तेस्रो कुक राखेका छैनौं घरको जस्तै आफै पकाएर दिन्छौं । ’
संचालिका उमाको राम्रो स्वभावका कारणले गर्दा पनि धेरै ग्राहकहरु आकर्षित भएका हुन् । ‘हसिलो स्वभाव र मीठो बोलीबचन’ ग्राहकहरुले त्यही त खोजेका हुन्छन् । ‘उहाँले हाँसेर खाजा दिनुहुन्छ , रिसाएको देखेको छैन ’ एकजना ग्राहकले भने । म्याजिक होटलमा संचालिका उमासंगै उनका श्रीमान प्रकाश भण्डारी , छोरी उपना र तीनजना कामदार खटिएका छन् । श्रीमान् प्रकाश सरकारी जागिरे भएपनि खाली समयमा उनी होटलमा खटिन्छन् । प्रकाश विहान र बेलुका सहयोग गर्ने गर्छन् । नेपाली सेनाको हवल्दारबाट अवकाश पाएपछि उनी अहिले बिर्तामोड नगरपालिकामा कार्यरत छन् ।
यसअघि बिर्तामोडको शनिश्चरे रोडमा होटल व्यवसाय गरेका उनीहरुले तीन वर्षअघि भीमा सुवेदीबाट सो होटल किनेका हुन् । उनीहरुको होटलमा चिया खाजादेखि खानाको पनि व्यवस्था रहेको छ । ‘ भुटन चिउरा , झोल ममलगायत हरेक प्रकारका खाजासंगै लोकल थकाली खाना उपलव्ध छ ’ संचालिका उमाले भनिन् ।
खटाइ अनुसारको कमाइ
म्याजिक खाजाघरको आम्दानी लोभलाग्दो छ । खाजा र खाना खानेहरुको भीड लागेपछि म्याजिक खाजाघरले राम्रो आम्दानी गरिरहेको हो ।
‘ हामीकहाँ दैनिक ४०–५० जना खाना खाने ग्राहक छन् ,त्यस्तै खाजा खाने नियमित ग्राहकहरु पनि निकै छन् ’ उमाले भनिन् । म्याजिक खाजाघरको दैनिक बिक्री १५ देखि २० हजारसम्म हुने गरेको छ । सबै खर्च कटाएर लगभग २ लाख नाफा हुने गरेको उनले सुनाइन् । गर्न चाहने र लगनशील भएर गर्ने हो भने नेपालमै बसेर व्यवसाय गर्नेहरुका लागि उमा एक उदाहरण बनेकी छन् ।