झापा,भदौ १६ । सूचीकृत कम्पनीमा लाभांशको सिजन सुरु भएको छ ।

आर्थिक वर्ष २०८१-०८२ मा आर्जित तथा सो अवधिसम्म सञ्चित नाफाबाट सूचीकृत विभिन्न क्षेत्रका कम्पनीले लाभांश घोषणा गर्न थालेका हुन् । बैंक तथा वित्तीय संस्थादेखि हाइड्रोपावर कम्पनीमध्ये केहीले लाभांश घोषणा गर्न थालिसकेका छन् ।
बजारमा सूचीकृत रहेकामध्ये धेरैजसो म्युचुअल फण्डहरूले यस वर्षका लागि आफ्नो लाभांश घोषणा गरिसकेका छन् । हालसम्म ३७ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१-०८२ को कारोबारका आधारमा लाभांश घोषणा गरेका छन् । त्यसमध्ये अधिकांश सूचीकृत फण्ड छन् भने केही बजारमा सूचीकरण नभएका खुलामुखी म्युचुअल फण्ड छन् । उनीहरूले यसपटक ३.८ प्रतिशतदेखि २१.०५ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।
यसरी लाभांश घोषणा गर्नेमध्ये ६ वटा खुलामुखी म्युचुअल फण्ड छन् । यस्ता म्युचुअल फण्डका इकाईहरू खुला बजारमा कारोबार हुँदैनन् । खुलामुखी म्युचुअल फण्डमा एउटाले १६ प्रतिशत लाभांश घोषणा गर्दा बाँकीको लाभांश दर एकल अङ्कमा रहेको देखिन्छ ।
म्युचुअल फण्डले साधारणसभा गर्नु नपर्ने भएकाले तत्कालै लाभांश घोषणा गर्न सक्छन् । त्यसैले क्षमता अनुसार दसैँ–तिहारभन्दा अगाडि नै लाभांश वितरण गर्ने गरी यस्ता फण्डहरूले तयारी गरेका हुन्छन् । तर, सूचीकृत अन्य कम्पनीको हकमा भने लेखापरीक्षण गर्नुपर्छ । यस्तो लेखापरीक्षणलाई नियामक निकायबाट स्वीकृत गराएरमात्रै ती कम्पनीले लाभांश घोषणा गर्न सक्छन् । बैंक तथा वित्तीय संस्थाको हकमा लाभांश समेत नियामक निकायबाट स्वीकृत गराएरमात्रै साधारणसभामा घोषणा गर्नुपर्ने व्यवस्था छ ।

यी प्रक्रियाका बाबजुद केही कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । बैंकिङ समूहमध्ये हालसम्म माछापुच्छ्रे बैंकले पहिलोपटक यस वर्षको लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबारको बोर्ड बैठकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको हो । यो हिसाबले बैंकले दसैँ अगावै सेयरधनीलाई लाभांश पठाउनेगरी तयारी अघि बढाएको देखिन्छ ।

सूचीकृत हाइड्रोपावरमध्ये हालसम्म दुई हाइड्रोपावरले हालसम्म लाभांश घोषणा गरेका छन् । मिड सोलो हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरले यस्तो घोषणा गरेका हुन् । दुवै हाइड्रोले १५ प्रतिशत बोनस सेयर र यसमा कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने प्रस्ताव गरेका छन् । छिटो साधारणसभा आह्वान गरे पनि यी कम्पनीका सेयरधनीले नगद प्राप्त भने गर्ने छैनन् ।

लगानी समूहमा रहेको अर्को कम्पनी हाथवे इन्भेस्टमेन्टले पनि यस वर्षका लागि लाभांश घोषणा गरिसकेको छ । यस कम्पनीले यस वर्ष १२ प्रतिशत बोनस सेयर र यसमा लाग्ने करबापतको नगद लाभांशको प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्