झापा, भदौ १६ । औषधी व्यवस्था विभागले गुणस्तरहीन औषधी आयात गरी विक्रीवितरण गर्ने सफल स्वास्थ्य सेवा कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ ।

विभागले फार्मेसी अधिकृत सुपुष्प लामालाई छानविन गरी अनुसन्धान अघि बढाउन जिम्मेवारी दिएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा प्रतिबन्धित औषधी सफल स्वास्थ्य सेवाले बिक्री गरेको पाइएको जानकारी दिँदै थप अनुसन्धानका लागि सुपुष्प लामालाई संयोजक तोकेर छानविन गरिरहेको जानकारी दिए । उनले समितिले गुणस्तरहीन औषधी बिक्री गर्ने कम्पनीका व्यक्तिहरुलाई बोलाएर सोधपुछ, अनुसन्धान तथा छानविन गर्ने काम भइरहेको बताए ।
विभागले उजुरीको आधारमा एक साता अगाडि विभागको अनुगमन टोलीले कलंकीस्थित कम्पनीको कार्यालयमा छापा मार्दा गुणस्तरहीन जीवनरक्षक औषधी अनाधिकृत आयात गरी बिक्री गर्दै आएको पुष्टि भएको थियो ।
कलंकीस्थित सफल स्वास्थ्य सेवाले औषधी व्यवस्था विभागले प्रतिबन्धित गरेको औषधी नेपालमा ल्याएर अस्पतालहरुमा बिक्री गर्ने गरेको थियो । विभागको टोलीले जफत गरिएका कम्प्युटर लगायतका उपकरणबाट औषधी आयात गरिएको र विभिन्न अस्पतालमा वितरण गरिएको पत्ता लगाएको थियो ।

सफल स्वास्थ्य सेवा प्रालिले भ्यालेन्ट्रोन हेल्थ केयरद्धारा उत्पादित औषधी भ्लेक्जोन १ ग्राम गुणस्तरहीन भएपछि औषधी व्यवस्था विभागले आयात अनुमति नै रद्द गरेको थियो । आयात अनुमति पत्र रद्द भइसकेपछि एलसी मार्फत ठुलो परिमाणमा औषधी आइरहेको र बिक्री भइरहेको सूचना पाएपछि विभागले उक्त कम्पनीमा छापा मारेको थियो । विभागले छापा मार्दा एक लाख ६५ हजार १५ भाईल इन्जेक्सन मात्रै मौज्दात रहेको पाइएको थियो ।

औषधी व्यवस्था विभागले सफल स्वास्थ्य सेवा प्रालिले ल्याएको सो औषधीको विषयलाई सार्वजनिक सूचनाको रुपमा बाहिर ल्याउन सकेको छैन । ठुलो परिमाणमा औषधी आयात गर्न एलसी खोल्न पर्छ । तर यसका लागि आयात अनुमति पत्र अनिवार्य हुन्छ । औषधी व्यवस्था विभागले ल्याउन लागेको औषधीको गुणस्तर फेल भएका कारण सफल स्वास्थ्य सेवा प्रालिले नवीकरणका लागि दिएको अनुमति पत्र २१ जेठ २०८२ मा रद्द गरिदिएको थियो । सो कम्पनीले प्रभु बैकको थानकोट शाखाबाट भ्लेक्जोन १ ग्राम आयातका लागि ३ असार २०८२ मा एलसी खोल्न सफल भएको छ । सामान्य त नवीकरण नभएको अनुमति पत्रका आधारमा बैंकले एलसी खोल्न मिल्दैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्