झापा,भदौ १६ । नेपाली कांग्रेसले पार्टीमा अनुशासनको कारबाही सिफारिस गरिएकाहरूको पनि सदस्यता नवीकरण गर्ने भएको छ ।

महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले पार्टी अनुशासन समितिलाई कारबाही सिफारिस गरिएकाको पनि सदस्यता नवीकरण गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
कांग्रेसमा २०७९ सालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै पार्टीका विभिन्न तहले दुई हजार १०० भन्दा बढी नेता कार्यकर्तालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेका छन् । निर्वाचन सम्पन्न भएको तीन वर्ष पुग्दा पनि अनुशासन समितिमा परेका उजुरी फस्र्यौट नगरेपछि समितिले यस्तो निर्णय लिएको हो ।
‘अनुशासन समितिमा कारबाहीका लागि सिफारिसमा परेका तर अनुशासन समितिले अहिलेसम्म कारबाहीको निर्णय नगरेकाहरूको सदस्यता नवीकरण गर्ने निर्णय समितिले गरेको छ,’ पार्टी केन्द्रीय सदस्य समेत रहेका स्नेहीले भने, ‘अनुशासन समितिले कारबाहीको सिफारिस गरेर र सम्बन्धित निकायले कारबाही गरेको खण्डमा मात्रै उसको सदस्यता निलम्बनमा राख्न त्यतिबेलै निर्णय गर्ने सहमति समितिमा भएको छ ।’
यसअघि कांग्रेसमा अनुशासनको कारबाही सिफारिस भएकाको सदस्यता नवीकरण हुँदैनथ्यो । तर अहिले धेरै नेता कार्यकर्ता अनुशासनको कारबाहीका लागि सिफारिसमा परेका तर अनुशासन समितिले निर्णय गर्न नसकेकाले सदस्यता व्यवस्थापन समितिले यस्तो निर्णय लिएको छ ।