झापा, भदौ १६ । बारा, पर्सा र रौतहट क्षेत्रमा कम्युनिस्ट आन्दोलनको आधारशीला राख्नेमध्येका एक अग्रज नेता नन्दन अर्यालको ९५ वर्षको उमेरमा निधन भएको छ।

उनको जन्म बाराको कलैया उपमहानगर पालिका–१४ बघवनमा १९८८ मा भएको थियो ।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित रहेका अर्यालले उपचारको क्रममा काठमाडौँमा गएराति अन्तिम सास लिएको परिवारका सदस्यहरूले बताएका छन् । नेता अर्याल २०११ सालको ऐतिहासिक किसान आन्दोलनका अगुवा थिए ।
त्यस यताका दशकहरूमा उनले तराईमा किसान र श्रमिकलाई सङ्गठित गर्दै कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । सिद्धान्त निष्ठता, त्याग र सङ्घर्षका प्रतीक अर्याल बारम्बार जेल परेका थिए । भूमिगत कालमा राज्यद्वारा निगरानीमा राखिए तापनि उनले आफ्नो जीवन राजनीति र जनताको सेवामा समर्पित गरेका थिए ।
पञ्चायत शासनकालमा पटक–पटक वारेन्ट जारी भई पाँच पटकसम्म जेलजीवन बिताएका अर्यालले भूमिगत गतिविधिबाट आन्दोलनको नेतृत्व गर्नेदेखि भारतमा शरण लिनेसम्मका अनेक सङ्घर्षपूर्ण जीवन बिताएका थिए । तराईका पुराना कम्युनिस्ट कार्यकर्ताहरूका लागि अर्याल प्रेरणाका स्रोत रहेको तथा उनको निधनले असल कम्युनिस्टहरू अभिभावक गुमाएको महसुस अहिले गरेको पूर्व जिल्ला सभापति छठु यादवले बताए ।