झापा, भदौ १६ । किसानको बाख्रा खान आएको ब्लाक प्यान्थर(कालो चितुवा) लाई इलाममा नियन्त्रणमा लिई उद्धार गरिएको छ ।

आज बिहान ११ बजे इलाम सूर्योदय नगरपालिका २ बागबिरे टोल बस्ने टंक काफ्लेको गोठमा बाख्रा खान आएको कालो चितुवालाई नियन्त्रणमा लिइएको थियो ।
दुईवटा बोका र एउटा बाख्रालाई मारेर सोही गोठमा बसिरहेको अबस्थामा वन कार्यालयसंग आवश्यक समन्वय गरेर चितुवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

साँझ ५ः४० बजे कोशी टपु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख बिरेन्द्र गौतमसहितको टोली आई सो चितुवालाई उद्धार गरी सुरक्षित साथ बागमती प्रदेश ०१–०२७ च ४९८५ नम्बरको गाडीमा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा लगिएको डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।