झापा, भदौ १६ । ९ पटकसम्मको वार्तापछि बल्ल चिया उत्पादक र चिया श्रमिकबीच सहमति भएको छ ।

चिया बगानमा क्रियाशील ट्रेड युनियन र नेपाल चिया उत्पादक संघका प्रतिनिधिबीच सहमति भएको हो । चिया बगानमा कार्यरत श्रमिकहरुले हाल खाइपाइ आएको न्यूनतम् पारिश्रमिकमा आधारभूततर्फ रु.३९, महंगी भत्तातर्फ रु.२६ थप गरी दैनिक आधारभूत पारिश्रमिक रु.३६२ , महंगी भत्ता रु.२०३ गरी जम्मा रु. ५६५ ,मासिकतर्फ आधारभूततर्फ ११६२ , महंगी भत्ता ६४४ थप गरी आधारभूत पारिश्रमिक रु. १००९६ ,महंगी भत्ता रु ५६०३ गरी जम्मा रु.१५६९९ पुर्याउने , चिया प्रशोधन कारखानामा काम गर्ने श्रमिक र बगानका सरदार, चौकीदारको समेत दैनिक भत्ता रु.७० निर्धारण गरिएको छ । जुन सहमति साउन १ गतेदेखि लागु हुनेगरी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा सिफारिस गरिने भएको छ ।
सवै प्रतिष्ठानहरुमा प्रतिष्ठानलाई आवश्यक पर्ने कामदार संख्या यकिन गरी श्रम ऐन २०७४ को दफा ११ अनुसार २०८२ भाद्र मसान्तसम्ममा नियमित र समयगत रोजगार सम्झौता गरी काममा लगाउने, नियमित रोजगारीमा रहेका कामदारहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सूचीकृत गर्ने प्रकृया सुरु गरी २०८२ असोज मसान्तसम्ममा सूचीकृत गरी सक्नेलगायतका सहमति भएको हो ।
चिया बगानमा क्रियाशील ट्रेड युनियनहरुले गत असार ६ गते ६ बुँदे माग राखेका थिए । तीस दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि झापाका चिया श्रमिकहरुले साउन १८ गतेदेखि चिया बगान बन्द गरेका थिए ।