बनियानी, भदौ १७ । मेचीनगरस्थित महिला जनचेतना केन्द्रले राजनीतिक खबरदारीका लागि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

अन्तरपुस्ता महिलावादी मञ्च (आइजी) को तेस्रो वर्ष अनुपम अभियानअन्तर्गत यो हस्ताक्षर कार्यक्रम पहिलो पटक कचनकवल गाउँपालिकामा सञ्चालन गरिएको हो। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला जनप्रतिनिधिहरू सहभागी थिए । कार्यक्रमका सहभागीले अभियानलाई समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए।

संस्थाकी प्रोजेक्ट को–अर्डिनेटर मनिला उप्रेतीले यो अभियान “एक हस्ताक्षर मात्र नभई आवाजको हस्ताक्षर” भएको बताइन् । केन्द्रकी अध्यक्ष सीता गुरुङले यसलाई महिलाको भविष्य र सपना साकार पार्ने अभियानको रूपमा व्याख्या गर्दै सबैलाई एकजुट भएर लाग्न आग्रह गरिन्। उनले २०८४ सालमा हुने तीनै तहको निर्वाचनमा महिलालाई अग्रस्थान दिनुपर्नेमा जोड दिइन्।

पाँच वर्षे अनुपम अभियानको उद्देश्य न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पुर्याउनु रहेको छ। त्यसका लागि पछाडि पारिएका समुदाय र महिलाको आवाजलाई बुलन्द गर्दै उनीहरूलाई राज्यको हरेक तहमा निर्णायक भूमिकामा पुर्याउने लक्ष्य लिएको बताइएको छ।


यस वर्ष अभियानले “राजनीतिक खबरदारी” शीर्षकमा देशव्यापी हस्ताक्षर संकलन थालेको हो । संकलित हस्ताक्षर विभिन्न राजनीतिक दलको कार्यालयमा बुझाउने योजना छ। साथै, पार्टी राजनीति र संरचनाबारे सामूहिक अध्ययन गर्ने र सहभागीलाई राजनीतिबारे स्वअध्ययनमा सक्रिय बनाउने कार्यक्रम पनि अघि बढाइनेछ।

अभियानलाई निरन्तरता दिँदै २०२६ मार्चमा नवलपुरको पद्मालयमा आयोजना हुने राष्ट्रिय भेटसम्म संकलित हस्ताक्षर दलको कार्यालयमा बुझाउने आयोजकहरूले जनाएका छन्। कार्यक्रमको सञ्चालन सामाजिक परिचालक खञ्जन राजवंशीले गरेकी थिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्