झापा, भदौ १७ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा प्रहरीले निगरानी बढाएको छ ।

मन्त्री र सचिवको द्वन्द्व बढेपछि मन्त्रालय आसपासमा थप प्रहरी परिचालन गरिएको हो । थप दुर्घटना नहोस् भनेर प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकारीले जानकारी दिए ।
सोमबार मन्त्री खगेनसिंह हाङगामले मन्त्रालयका सचिव शरणकुमार पाण्डे चढ्ने गाडीको चाबी खोस्न लगाएका थिए । पाण्डेको साउन २६ गते संघीय कृषि मन्त्रालयमा सरुवा भएको थियो । उनको दुई दिन अगाडि मात्रै फेरि कोशी प्रदेशमै सरुवा भएको पत्र आएपछि मन्त्री आक्रोशित बनेका थिए । आफूले भनेको काम नगरेको भन्दै सचिवसँग मन्त्री रुष्ट भएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।
मन्त्री र सचिव दुवै जना सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेका थिए । मन्त्री हाङगाम मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन गएका थिए भने सचिव पाण्डे प्रमुख सचिवलाई भेट्न गएका थिए । सचिव प्रमुख सचिवलाई भेटेर निस्कँदा गाडी नदेखेपछि मन्त्रालयमा खबर गरेका थिए । मन्त्रीको सचिवालयले चाबी मागेर राखेको मन्त्रालयबाट सूचना पाएपछि सचिवले भने मोटरसाइकल मगाएर गएका थिए ।
दुवै जना आज मन्त्रालय भने गएनन् । सचिव विदामा बसेका छन् भने मन्त्री गृह जिल्ला ताप्लेजुङ गएका छन् । मन्त्रीले चाबी खोसेपछि उनलाई एक हप्ताका लागि बिदामा बस्न मुख्यमन्त्री हिक्मत कार्कीले भनेको स्रोतले बतायो ।
मन्त्री हाङगाम र सचिव पाण्डेबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ । मन्त्रीले करारका ड्राइभर तथा कार्यालय सहयोगी हटाउन खोजेका थिए तर सचिवले अस्वीकार गरेपछि दुई उनीहरूबीच द्वन्द्व बढेको मन्त्रालयका कर्मचारी बताउँछन् ।
मन्त्री हाङगामका स्वकीय सचिव अशोककुमार आङबोहाङले भने गाडीको चाबी मन्त्रीले नखोसेको दाबी गरेका छन् । मन्त्री हाङगामले पटक पटक अनुरोध गर्दा पनि यस विषयमा बोल्न मानेनन् ।
मन्त्री हाङगाम भने विवादित हुँदै आएका छन् । उनले गत असारमा गृहजिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि मुक्का प्रहार गरेका थिए ।
२०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा हाङगामले तत्कालीन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए । उनले प्रहरीको हातहतियार खोसेको आरोपसमेत लागेको थियो ।
त्यस्तै गत भदौ ७ गते साँझ मन्त्री हाङगामकै कार्यकर्ताहरु मिथुन पालुङवा लिम्बू, मन्दीप लिम्बू, हेम आङबुहाङ, बिशाल तामाङ लगायत १०–१२ जनाको समूहले आठराई त्रिवेणी –२ का वडाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य टेकेन्द्र सेन्दाङमाथि सांघातिक आक्रमण गरेका थिए । ती युवाहरु नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल आवद्ध रहेको बुझिएको छ ।



