झापा,भदौ १७ । यतिबेला तस्करहरुको ध्यान बीउ तस्करीमा गएको छ ।

नेपालबाट फर्सी , काक्रा लगायतको बीउ भारततर्फ तस्करी गर्ने क्रम बढेको हो । जसमा ठूलो गिरोह संलग्नता देखिएको छ । तस्करहरुले जिल्लाको दक्षिणी नाकाबाट ती बीउ लैजाने गरेको पाइएको छ । आइतवार दिउँसो नेपालबाट लगिएको ७५ बोरा फर्सीको बीउ बोकेको दुईवटा पिकअप र दुई वटा ट्रयाक्टरसहित ६ जनालाई भारतीय सुरक्षाकर्मी एसएसबीले नियन्त्रणमा लिएको छ । भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाँदै गरेको फर्सीको बीउ लोड भएको चार वटा गाडीसहित ६ जना तस्करलाई पक्राउ गरेसँगै गौरीगञ्ज नाकाबाट समेत बीउ तस्करी हुने गरेको खुलासा भएको हो ।
यसअघि गत जेठ ६ गते कुमरखोद नाकाबाट लैजान खोज्दा ५० बोरा काक्राको बीउसहित एउटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतीय एसएसबी १२ बटालियन माफिटोला क्याम्प र फत्तेपुर पुलिस थानाको संयुक्त टोलीले स्थानीयको सहयोगमा विशेष सूचनाको आधारमा ७५ बोरा फर्सीको बीउ, दुईवटा पिकअप, दुई वटा ट्याक्टरसहित ६ जनालाई पक्राउ गरेको हो। एसएसबीका इन्चार्ज इन्स्पेक्टर राजेश कुमारका अनुसार नेपालबाट भारततर्फ बीउलगायतका सामानको तस्करी भइरहेको सूचना प्राप्त भएको थियो।
त्यही सूचनाको आधारमा लालापानी–खनियावाद सीमा नाकामा तस्करहरूलाई गाडीसहित घेराउ गरी ठुलो मात्रामा बीउ बरामद गरेको इन्स्पेक्टर कुमारले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। पक्राउ पर्ने ६ जना नै भारतीय हुन् । उनीहरुले प्रयोग गरेको गाडी पनि भारतीय नम्बरका छन् । बरामद गरिएको बीउ, चारवटा गाडीसहित ६ जनालाई आवश्यक कारबाहीका लागि किसनगञ्ज भन्सारमा बुझाएको जनाइएको छ।
केही दिनअघि पनि फत्तेहपुर पुलिस थाना टेढागाछले फर्सीको बीउ र चाइनिज स्याउसहित दुईवटा पिकअपलाई नियन्त्रणमा लिएको थियो। सीमा नाकाबाट तस्करी बढेसँगै त्यहाँका स्थानीयले राति सुत्न नपाउँदा समस्या भइरहेको भन्दै एसएसबीलाई गुनासो गरेका थिए।
भारतीय सुरक्षा निकायले बरामद गरेको ठाउँ लालापानी–खनियावाद सीमा नाका पारीपट्टि गौरीगञ्ज गाउँपालिका पर्छ। गौरीगञ्जको पनि खादमगाछी र खगुरगाछी नाका पर्छ। भारतीय सुरक्षा निकायले बरामद गरेको बीउको तस्करी गौरीगञ्जका विनोद र सन्जीव नाम गरेका व्यक्तिले गर्दै आइरहेको स्रोतको दाबी छ। सो बीउको मुख्य मान्छे झापा गाउँपालिका जीवन भन्ने व्यक्ति हुन् । उनीहरूको समूहले त्यहाँका स्थानीय सशस्त्र र नेपाल प्रहरीसँग सेटिङ मिलाएर विगत लामो समयदेखि रातको समयमा ट्रयाक्टर र पिकअपमा ओसारपसार गर्दै आइरहेको स्रोतको दाबी छ।
यसअघि गत जेठ ६ गते दक्षिणी नाका कुमरखोदबाट भारततर्फ तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहितको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.१ मा नम्बर प्लेट नखुलेको ट्रयाक्टरलाई शंका लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदैं गरेको अवस्थामा ५० बोरा काक्राको बीउ फेला परेको थियो । प्रतिबोरा ५० के.जीका दरले काक्राको बीउ लोड रहेको थियो । अन्दाजी २ लाख ५० हजार बराबरको काक्राको बीउ र ट्रयाक्टरको मूल्य अन्दाजी ५ लाख गरी जम्मा ७ लाख ५० हजारको अवैध सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको थियो ।
त्यति बेला नम्बर नखुलेपनि सो ट्रयाक्टर भारतीय नम्बरको भएको मेची भन्सार कार्यालयका रामचन्द्र ढुंगानाले बताए । काक्राको बीउ र ट्रयाक्टरको साढे ७ लाख प्रतिवेदन मूल्य राखेर ३५ दिने हकदावीको सूचना जारी गरिएको थियो । बीउमा अत्यधिक मात्रामा प्रोटिन पाइन्छ । खानको लागि ती बीउहरु भारत लगिने गरेको जनाइएको छ ।



