बिर्तामोड, भदौ १७ । दक्षिण कोरियामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई झापाको बिर्तामोडमा शैक्षिक परामर्श दिइने भएको छ ।

दक्षिण कोरियाका विश्वविद्यालयबाट आउने प्रतिनिधिहरुसंग प्रत्यक्ष कुराकानी गरी विद्यार्थीहरुले जानकारी लिन सक्ने भएका हुन् ।
दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने बिद्यार्थी र अभिभावकलाई जानकारी दिने उद्धेश्यले यही भदौं २४ गते बिर्तामोडमा सेमिनार आयोजना गरिएको छ । सुवेदी एण्ड एसोसिएट बिर्तामोड र राइट एजुकेशनल सर्विसेज प्रालिद्वारा संयुक्तरुपमा सो सेमिनार आयोजना गरिएको आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
सेमिनारमा दक्षिण कोरियाका दुई वटा युनिभर्सिटीका प्रतिनिधिहरुले बिद्यार्थी र अभिभावकलाई त्यहाँको रहनसहन, वातावरण र नियम कानुनका बिषयमा परामर्श दिने सुवेदी एण्ड एसोसिएट बिर्तामोडका प्रवन्ध निर्देशक रोशन सुवेदीले जानकारी दिए । उच्च शिक्षा अध्ययनका लागि कोरिया जान चाहने बिद्यार्थीका अभिभावकहरु अन्यौलमा परिरहेकाले सो सेमिनार आयोजना गरिएको सुवेदीले बताए ।
दक्षिण कोरियाको ह्युपसुङ्ग युनिभर्सिटी र चुङ्गबुक हेल्थ एण्ड साइन्स युनिभर्सिटीका प्रतिनिधिहरुले सेमिनारमा परामर्श दिने राइट एजुकेशनल सर्विसेज प्रालिका प्रवन्ध निर्देशक नबिन बोहोराले जानकारी दिए ।
बोहोराका अनुसार सेमिनारमा ह्युपसुङ्ग युनिभर्सिटीका एडमिशन मेनेजर लि थोङ्ग हुन , इन्टरनेशनल एडमिशन अफिसर चुङ्ग मियोन र चुङ्गबुक हेल्थ एण्ड साइन्स युनिभर्सिटीका प्रोफेसर लि मियेले परामर्श दिनेछन् ।



