झापा, भदौ १८ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले आफूलाई लक्षित गरेर बाहिर आएका समाचार र हल्ला सत्यमा आधारित नरहेको बताएका छन्।

मुख्यमन्त्री कार्यालयका सचिव डा. शरणकुमार पाण्डेद्वारा गरिएको प्रचारले आफू र मन्त्रालयलाई अनावश्यक विवादमा तानेको भन्दै उनले हिजो स्पष्ट पारेका हुन्।
मन्त्री हाङगामका अनुसार साउन २६ गते पाण्डेको संघको कृषि मन्त्रालयमा सरुवा भएको थियो । साउन २८ गते रमानापत्र आएको थियो । तर शक्तिकेन्द्रको आडमा पुनः प्रदेशमा सरुवा मिलाएर भदौ १३ गतेदेखि डा. पाण्डे मुख्यमन्त्री कार्यालयमा हाजिर हुन थाले ।
सो अवधिमा पनि उनले उद्योग मन्त्रालयको गाडी, चालक र क्वार्टरको उपयोग गरिरहे । यसले मन्त्रालयमाथि नै पारदर्शिताको प्रश्न उठ्ने भएकाले गाडी र चालक फिर्ता बोलाएको मन्त्री हाङगामको भनाइ छ ।
‘उहाँले मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिवका रूपमा रहँदा पनि उद्योग मन्त्रालयको गाडी चालक र क्वार्टर उपयोग गर्दै आउनुभयो । बाहिर–बाहिर हिँड्नुभयो । मसँग नभेटेको लगभग २०–२५ दिन भयो । उहाँ हाल उद्योग मन्त्रालयको सचिवका रूपमा कामकाजमा खटिनुभएको छैन,’ मन्त्री हाङगामले भने, ‘भोली पत्रकार साथीहरूले आमजनताले तपाईंको पूर्वसचिवले चढेको गाडी चालक र क्वार्टर कस्तो अवस्थामा छ? भनेर सोध्दा मेरो मातहतमा रहेको विभाग र कार्यालयबारेमा म जवाफदेही हुनुपर्छ । जिन्सी शाखामा गाडीको चाबी राख्ने चलन छ । त्यहाँ चालकलाई बोलाएर चाबी राखिएको र गाडी हाम्रो मन्त्रालयको हाताभित्र राखिएको अवस्था हो ।’
कर्मचारीप्रति कुनै पूर्वाग्रह नराखेको पनि मन्त्री हाङगामले स्पष्ट पारेका छन् । ‘हामीले सुशासन कायम गर्न र सेवा चुस्त बनाउन निर्देशन दिने गर्छौं। तर कर्मचारीप्रति हाम्रो दृष्टिकोण सधैँ एउटै हुन्छ । कोही कर्मचारीप्रति पनि पूर्वाग्रह छैन,’ उनले भने । मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिव रहँदै गर्दा उद्योग मन्त्रालयको गाडी दुरुपयोग गर्न पाइँदैन भन्ने हिसाबले मात्रै चालक फिर्ता बोलाइएको उनको भनाइ छ । मन्त्री हाङगाम हाल ताप्लेजुङमा छन् भने सचिव पाण्डे विदामा छन् ।



