भद्रपुर, भदौ १८ । आफ्नै वडाकी जनप्रतिनिधिलाई हातपात गर्ने भद्रपुर–३ की वडा सदस्य पूर्णमाया सुब्बा(पुनम) लाई प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुर ३ को कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी पाएकी वडा सदस्य भुवमाया थापा पुलामी र वडा कार्यालयका कर्मचारीमाथि कार्यपालिका सदस्यसमेत रहेकी वडा सदस्य सुब्बाले हातपात गरेकी हुन् ।
दुवै जना राप्रपाबाट निर्वाचित वडा सदस्य हुन् । हातपातको क्रममा छुट्याउन जाँदा वडा कार्यालयका दुई जना महिला कर्मचारी पनि सामान्य घाइते भएका छन् । घटना विवरण अनुसार बुधवार दिउँसो २ बजे वडा कार्यालय अगाडिको खाजा पसलमा वडा सदस्य पुलामी, कर्मचारीहरू मनिका बेघा, प्रमिला थुलुङ र गंगा बरालसँगै बसेर खाजा खाइरहेका थिए । सोही बेला वडा सदस्य सुब्बा त्यहाँ पुगिन् । सोही क्रममा वडा सदस्य पुलामी र वडा सदस्य सुब्बाबीच भनाभन भई विवाद बढ्यो र वडा सदस्य सुब्बाले कार्यवाहक वडा अध्यक्ष पुलामीलाई हातपात गरेकी हुन् ।
हातपातको क्रममा दुवै जना जनप्रतिनिधिलाई छुट्याउन खोज्दा कर्मचारीहरू मनिका बेघा र प्रमिला थुलुङसमेत सामान्य घाइते भएका छन् ।
घटनापश्चात् कार्यवाहक वडाध्यक्ष पुलामी न्याय माग्दै जिल्ला प्रहरी कार्यालय झापा पुगेकी थिइन् । प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भएको थियो । प्रहरीले हातपात गर्ने वडा सदस्य सुब्बालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए । कार्यवाहक वडाध्यक्ष पुलामीले चिठी लुकाएको भन्दै सुब्बाले विवाद गरेकी थिइन् ।