भद्रपुर, भदौ १९ । आफ्नै वडाकी जनप्रतिनिधिमाथि कुटपिट गर्ने भद्रपुर–३ की वडा सदस्य पूर्णमाया सुब्बा(पुनम) लाई राष्ट्रिय प्रजातन्त्र पार्टीले अढाई वर्षअघि नै कार्वाही गरेको खुलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट खुल्ला वडा सदस्यमा जितेकी पूर्णमायाले पार्टीको हरेक कार्यक्रममा नआउने , आन्तरिक द्वन्द्व सिर्जना गर्ने , बाहिर बद्नाम गरेर हिडेपछि उनलाई अढाई वर्षअघि नै पार्टीले कार्वाही गरेको भद्रपुर ३ का वडा अध्यक्ष हेमबहादुर कार्की(सन्तु) ले बताए । पूर्णमायालाई भद्रपुर ३ को वडा कार्यालयको बैठकमा पनि बोलाउन छोडिएको थियो । बैठकमा भाग लिन नपाउँदा उनले पाउने बैठक भत्ता कटौती भएको थियो । त्यही आक्रोश पोख्दै हिजो दिउँसो उनले कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी पाएकी वडा सदस्य भुवामाया थापा पुलामी र वडा कार्यालयका कर्मचारीमाथि हातपात गरेको बताइएको छ । भद्रपुर ३ मा वडा अध्यक्ष कार्कीसहित पाँचैजना राप्रपाबाट निर्वाचित भएका हुन् । पूर्णमायाले भुवामायालाई घाँटी न्याकेको र पानीको बोतलले हानेकी थिइन् ।
हातपातको क्रममा छुट्याउन जाँदा वडा कार्यालयका दुई जना महिला कर्मचारी पनि सामान्य घाइते भएका छन् । घटना विवरण अनुसार बुधवार दिउँसो २ बजे वडा कार्यालय अगाडिको खाजा पसलमा वडा सदस्य भुवामाया, कर्मचारीहरू मनिका बेघा, प्रमिला थुलुङ र गंगा बरालसँगै बसेर खाजा खाइरहेका थिए । सोही बेला वडा सदस्य पूर्णमाया त्यहाँ पुगिन् । सोही क्रममा वडा सदस्य भुवामाया र पूर्णमायाबीच भनाभन भई विवाद बढ्यो र वडा सदस्य सुब्बाले कार्यवाहक वडा अध्यक्ष भुवामायालाई हातपात गरेकी हुन् ।
हातपातको क्रममा दुवै जना जनप्रतिनिधिलाई छुट्याउन खोज्दा कर्मचारीहरू मनिका बेघा र प्रमिला थुलुङसमेत सामान्य घाइते भएका हुन् ।घटनापश्चात् कार्यवाहक वडाध्यक्ष पुलामी न्याय माग्दै जिल्ला प्रहरी कार्यालय झापा पुगेकी थिइन् । प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भएको थियो । प्रहरीले हातपात गर्ने वडा सदस्य पूर्णमायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए । हातपात गर्ने पूर्णमायामाथि अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गर्न लागिएको वडा अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।



