झापा, भदौ १९ । इलाका प्रहरी कार्यालय सुरुङ्गाका इन्चार्ज प्रहरी नायव निरीक्षक सुवास ढुंगाना उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बिभागीय मूल्य–मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय झापाले साउन महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषणा गरेको हो ।
प्रहरी नायव निरीक्षक ढुंगानाले अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरी दुईजनालाई पक्राउ गर्न सफल भएका थिए । गत साउन १६ गते विहान ६ः३० बजे कन्काई ३ सुरुङ्गा टेम्पु स्टेन्डमा लागूऔषध ब्राउनसुगर खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ढुंगानाको कमाण्डमा खटिएको टोलीले प्लास्टिकसहित ३०३ ग्राम ८१० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
सो लागूऔषधसहित सिन्धुली भिमान नगरपालिका १० बस्ने २६ वर्षीय बिनोद भन्ने धनबहादुर बि.क. र झापा गाउँपालिका ३ बस्ने २४ वर्षीया प्रेमकला महतो पक्राउ परेका थिए ।



