झापा, भदौ २० । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५००औं जन्मोत्सवको उपलक्ष्यमा झापाका विभिन्न स्थानमा शोभा र्याली निकालिएको छ ।

बिर्तामोड–३ स्थित बिर्तामोड नगरपालिका कार्यालय अगाडिबाट मुस्लिम समाज विकास समितिका अध्यक्ष अफ्रोज खानको नेतृत्वमा निकालिएको र्यालीमा सयौको उपस्थिति रहेको छ । शोभा र्यालीले अहिले बिर्तामोड बजार परिक्रमा गरिरहेको छ । त्यस्तै दमकमा पनि भव्य र्याली निकालिएको छ ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा झापाका ६ वटा पालिकाहरुले आज स्थानीय विदा दिएका छन् । भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका , झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले आज स्थानीय बिदा दिएका हुन् । मुस्लिम समुदायको बसोबास रहेको ती पालिकाहरूमा बर्सेनि स्थानीय बिदा दिने गरिएको छ ।
मुस्लिम समुदायका श्रद्धालुहरूले आज विशेष प्रार्थना, धर्मोपदेश र सामुदायिक कार्यक्रमहरू आ–आफ्नो पालिकामा मनाइरहेका छन् ।