झापा, भदौ २० । सहकारी ऐनको कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन् ।

सहकारी क्षेत्रको सुधार र पारदर्शिताका लागि कानुनी व्यवस्थाको पालना अपरिहार्य रहेको उनीहरूले बताएका हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐनमा भएका व्यवस्था क्रमशः लागु गर्दै जानुपर्ने बताए । उनले मूल ऐनमा भएका व्यवस्था, नियमावली र निर्देशन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्माले सहकारीका ऐन नियममा केही दुबिधा रहेको भन्दै यसलाई समाधान गर्नुपर्ने बताए । मुख्य कारोबारलाई फरक ढङ्गले परिभाषित नगरेसम्म प्राधिकरणले जारी गरेको निर्देशन पालना गर्नुपर्ने उनले बताए । ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सबै प्रकृतिका सहकारी प्राधिकरणको दायरा पर्ने स्पष्ट पारे ।
सहकारी विभागका रजिस्ट्रार उमेश ढुङ्गानाले सहकारी क्षेत्रलाई लगानीको बाटो र रोजगारीको बाटो बनाउनुपर्ने बताए । सहकारीको मूल्यमान्यता हराउँदै गएकाले यसलाई जोगाउनुपर्नेमा उनले जोड दिए ।