झापा, भदौ २१ । सुनसरीको धरानमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

हिजो दिउँसो १.५० बजे धरान उप–महानगरपालिका ६ चौकीडाँडामा धरानबाट केराबारीतर्फ जाँदै गरेको प्र.१–०२–००१ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेको को ३९ प २७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरमा सवार धरान ६ चौकीडाँडा बस्ने सुजन बुढाथोकीकी छोरी ११ वर्षीया सुवास्ना बुढाथोकीको मृत्यु भएको छ ।

त्यस्तै स्कुटर चालक सुवास्नाकी आमा ३३ वर्षीया बिना बुढाथोकी , सुवास्नाकी बहिनी ६ वर्षीया लुना बुढाथोकी र सोही ठाउँ बस्ने सुरेश श्रेष्ठकी छोरी ६ वर्षीया सुस्मिता श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । टिपर चालक धरान –६ पानबारी बस्ने ४५ वर्षीय भक्तबहादुर मगरलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो दिउँसो ४ बजे मोरङको बूढीगंगा गाउँपालिका ४ पशुपति टोलस्थित भित्री सडकखण्डमा दक्षिणबाट उतरतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ४६६५ न.को पिकअप गाडीले बाटो क्रस गर्दै गरेका शिवहरि पौडेलका छोरा ५ वर्षीय शम्भु पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । टाउको र अनुहारमा गम्भीर चोट लागेर उपचारको लागि बिराट टिचिङ अस्पताल गंगाचोक लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । पिकअप गाडी र चालक सुनसरी दुहबी ११ बस्ने २७ वर्षीय दिपनारायण ऋषिदेवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्