झापा,भदौ २१ । भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) दरमा परिवर्तन गरेपछि त्यसको असर नेपाली बजारमा झन् बढी पर्ने चिन्ता विराटनगरका उद्योगी व्यवसायीले गरेका छन् ।

नेपालका करका दर, कारण वस्तु उत्पादन लागत बढी पर्ने गर्छ । भारतले घटाएको जिएसटी दरको प्रभाव खुला सिमाना भएको नेपाल जस्तो देशमा अझै पर्ने चिन्ता गरिएको हो ।
भारतले राजस्व तथा सेवा कर (जिएसटी) का चार वटा स्ल्याबलाई घटाउँदै दुई तहमा झार्ने प्रस्ताव गरेको छ । भारतको ५६ औँ जिएसटी परिषद्को बैठकले अत्यावश्यक वस्तु सस्तो बनाउने उद्देश्य राखेर यस्तो प्रस्ताव गरेको हो । यो यही सेप्टेम्बर २२ देखि नयाँ दर लागु हुने छ जसको प्रभाव नेपाली बजारमा चाडपर्वकै बेला पर्ने उद्योगी व्यापारीको भनाइ छ ।
यस अवस्थामा मोरङ उद्योग व्यापार सङ्घले नेपाल सरकारले तत्काल केही नीतिगत सुधार नगरे देशका उत्पादन र उत्पादकत्वमा नराम्रोसँग प्रभाव पार्ने जनाएको छ । सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र भन्सारदरका कारण नेपाली वस्तुको मूल्य भारतको भन्दा बढी रहँदै आएको छ । त्यसमा पनि पछिल्लो परिमार्जित जिएसटी प्रणाली लागु हुँदा भारतमा उत्पादन हुने वस्तु अझै सस्तो हुने छ ।
अध्यक्ष राठीका अनुसार नेपाली उपभोक्ता सीमापार भारतका बजारमा अहिले पनि आकर्षित छन् । चोरीपैठारी पनि अत्यधिक छ । परिवर्तित जिएसटी लागु भएपछि भारतका बजारमा अझै नेपाली उपभोक्ता बढ्ने छन् भने खुला सीमानाकाबाट चोरीपैठारी पनि बढ्ने छ । यस्तो भएमा नेपालका सीमावर्ती बजारको अवस्था कमजोर हुने छ । अध्यक्ष राठीका अनुसार टेक्स्ट टायल, स्टेसनरी, खाद्यान्न, जुताचप्पलमा यसको असर बढी पर्ने छ ।

सङ्घले नेपाल सरकारले तत्काललै बहुदरको कर प्रणाली अवलम्बन गर्नुपर्ने सुझाव दिइएको छ । जसमा अत्यावश्यक वस्तुमा न्यून कर, मध्यम वर्गीय वस्तुमा मध्यम कर र विलासी वस्तुमा उच्च करको रणनीति बनाउन भनिएको छ । यसै गरी दैनिक उपभोग्य वस्तुका अन्तःशुल्क र भन्सार महसुल घटाउनुपर्ने, स्वदेशी उद्योगलाई परिरहेको नकारात्मक असरलाई कम गर्न करका दर परिवर्तन गर्नुपर्ने सुझाव दिइएको छ । यसै गरी सङ्घले उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव पूर्ण रूपमा अवलम्बन गर्नुपर्ने सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्