झापा, भदौ २२ । झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परी दुई प्रहरी घाइते भएका छन् ।

हिजो दिउँसो ४ः३० बजे बिर्तामोड वडा न.३ स्थित बिर्तामोड नगरपालिकाको बारुणयन्त्र कार्यालयनजिकै इलाका प्रहरी कार्यालय बिर्तामोडको बा २ ब ८६६९ न.को क्युआरटी मोटरसाइकल दुर्घटनामा परेको हो ।
बिर्तामोड–भद्रपुर सडकखण्डमा बिर्तामोडबाट गरामनीतर्फ जाँदै गरेको सो मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मेचीपारी झापा दरबन्दी भएका ताप्लेजुङ पाथीभरा याङबरक वडा न.१ बस्ने २८ वर्षीय प्रहरी जवान अनिल बर्देवा, पछाडि सवार प्रहरी चौकी बाघखोर झापा दरबन्दी र ताप्लेजुङ पाथीभरा याङबरक वडा न.१ घर भई हाल अर्जुनधारा वडा न.६ बस्ने ४३ वर्षीय प्रहरी बरिष्ठ हवल्दार भक्तिप्रसाद घिमिरे घाइते भएका हुन् ।
कनकाई अस्पतालमा सामान्य उपचारपश्चात् उनीहरुलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई राखिएको छ ।



