झापा, भदौ २२ । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले भोलि देशव्यापी प्रदर्शन गर्ने भएका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका हुन्। माइतीघर मण्डलामा भोलि बिहान ११ बजे प्रदर्शन हुनेछ। विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलामा उपस्थित हुन भनिएको छ। यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ।
प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागेपनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्।
ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।
उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन्। उनीहरूले टिकटकमा ‘नेपो बेबी’ अभियान चलाएका छन्, जसमा उनीहरूले ‘PoliticiansNepoBabyNepal’ मार्फत भिडियोहरू बनाइरहेका छन् । यो अभियान पारिवारिक पहुँचका आधारमा राजनीतिक तथा विशिष्ठ व्यक्तिहरूका सन्तानले बाँचिरहेको विलासी जीवनको विरोधमा भएको उनीहरूले बताएका छन् ।
साथै सामाजिक सञ्जाल टिकटकमा नेताहरू र उनीहरूका छोराछोरीको जीवनशैलीलाई लिएर पनि आलोचना भइरहेको छ। नेपालमा अरू सामाजिक सञ्जाल बन्द रहे पनि टिकटक र भाइबर भने सञ्चालनमा छ।

जेनजी पुस्ताले भोलि बिर्तामोडमा पनि प्रदर्शन गर्ने तयारी गरेका छन् । बिहान ११ बजे बिर्तामोडको मुक्तिचोकबाट कालो माक्ससहित शुरु हुने शान्तिपूर्ण र्यालीले बिर्तामोड नगरपालिकाको कार्यालयमा पुगेर दुई घण्टा धर्ना दिने जनाइएको छ ।
यसैबीच भ्रष्टाचारविरुद्ध जेन–जी विद्रोहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको छ ।
रास्वपा सचिवालय सदस्य दीपक बोहरा उक्त अभियानको समर्थनमा सामाजिक सञ्जालमा प्रस्तुत भएका छन् । उनले भनेका छन्, ‘सोच, शैली र संस्कार बदल्न, सञ्जालबाट अब सडकमा ।’
त्यस्तै बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंले फेरि सडकमा उत्रिने घोषणा गरेका छन् । उनले जेन–जीले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन जनाउँदै आन्दोलनमा सहभागी हुने बताएका हुन् ।
उनले जेन– जी अहिले सुरु गरेको यो अभियानलाई आफूले तीन वर्षअगाडि उठाएको मुद्दासँग मिलेको बताएका छन् । उनले भनेका छन्, ‘तीन वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहो¥याएको छ, धन्यवाद सबैलाई ।’त्यस्तै, उनले आन्दोलनलाई दमन नगर्न सरकारसमक्ष अनुरोध गरेका छन् ।
प्रसाईं गत चैत १५ मा तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनमा उग्रता मच्चाएर भाग्ने क्रममा भारतबाट पक्राउ परेका थिए । उक्त मुद्दामा धरौटीमा रिहा भएका प्रसाईं पहिलोपटक सडमा आउन लागेका हुन् ।