झापा, भदौ २६ । पछिल्ला तीन दिनमा देखिएको प्रतिकूल अवस्थामा बैङ्किङ, बिमा र सेयर बजार प्रभावित भएका छन् ।

अत्यावश्यक सेवामा पर्ने बैङ्कका शाखा कार्यालय र एटिएम मेसिन तोडफोड भएका छन् । राजधानी काठमाडौँसँगै देशका मुख्य सहरमा चलेको जेन जी पुस्ताको आन्दोलनका क्रममा बैङ्कका शाखा र एटिएम तोडफोड हुँदा ग्राहकलाई असर परेको छ । तथापि सर्वसाधारणलाई ढुक्क हुन आग्रह गर्दै नेपाल बैङ्कर्स सङ्घका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले छिटफुट केही घटनाबाहेक समग्र बैङ्किङ क्षेत्र भने सुरक्षित रहेको बताए ।
मङ्गलबार राति नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा तोडफोड गरी बैङ्कको भल्टमा प्रवेश गर्ने कोसिस भएकामा तोडफोडमा संलग्नलाई नेपाली सेनाले नियन्त्रणमा लिइसकेको छ । बैङ्कको शाखामा भौतिक क्षति भए पनि पैसा राख्ने भल्ट भने सुरक्षित रहेकाले नगदमा कुनै क्षति पुगेको छैन ।
त्यस्तै मारवाडी सेवा समितिको बत्तिसपुतलीमा रहेको भवन प्रदर्शनकारीले जलाउँदा उक्त भवनमा रहेको हिमालयन बैङ्कको शाखा कार्यालय पूर्ण रूपमा नष्ट भएको छ । त्यहाँ पनि भल्ट भने सुरक्षित रहेको बताइएको छ ।
अन्य केही स्थानका एटिएममा तोडफोड भए पनि नगद भने सुरक्षित रहेको छ । काठमाडौँको टङ्गालमा रहेको भाटभटेनी सुपरमार्केट जलाउँदा उक्त स्थानमा रहेका बैङ्कको एटिएममा क्षति पुगेको छ । भाटभटेनीकै भरतपुर र विराटनगर स्टोरमा रहेका स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको शाखा कार्यालय रहेकोमा यी दुई वटा शाखामा पूर्ण रूपमा क्षति भएको छ । बैङ्कको भल्ट सुरक्षित रहेकाले नगद भने सुरक्षित नै रहेको बताइएको छ ।

थापाथलीमा रहेको सेन्ट्रल बिजनेस पार्क पूर्ण रूपमा जल्दा उक्त टावरमा रहेको ग्लोबल आइएमई बैङ्कको शाखामा पनि पूर्ण रूपमा क्षति पुगेको छ । यसबाहेक सरकारी कार्यालयमा आगजनी हुँदा सरकारी कार्यालयमा रहेका बैङ्कका सेवा केन्द्र भने पूर्ण रूपमा क्षतिग्रस्त भएको सङ्घले जनाएको छ ।

राष्ट्र बैङ्कको समन्वयमा देशभर बैङ्कका शाखा र एटिएममा भएको क्षतिको विवरण सङ्कलन भइरहेको सङ्घले जनाएको छ ।

पछिल्लो परिस्थितिकै कारण बुधबार बैङ्क तथा वित्तीय संस्थाका शाखा पनि बन्द रहे । काठमाडौँ उपत्यकासहित बाहिरी जिल्लाका शाखा पनि बन्द रहे । राष्ट्र बैङ्कसँग समन्वय गरेर काठमाडौँसहित कफ्र्यु लागेका देशभरका विभिन्न स्थानमा रहेका बैङ्क शाखा बन्द गरिएको सङ्घका उपाध्यक्ष रेग्मीले बताए ।
नेपाल बिमा प्राधिकरणले मुलुकको सुरक्षा व्यवस्था सामान्य नभएसम्म घरबाटै कार्यसञ्चालनको व्यवस्था मिलाउन बिमा कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले बुधबार सूचना जारी गर्दै स्थिति सामान्य नभएसम्मका लागि बिमाको काम कारबाही घरबाटै गर्न आग्रह गरेको हो ।
आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायको आदेश पूर्ण रूपमा पालना गर्न तथा कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्नसमेत प्राधिकरणले विशेष आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्