झापा,भदौ २७ । जेनजी प्रदर्शनको अवधिमा भिसा अवधि पुरा भएका पर्यटकको भिसा नियमित गर्न अध्यागमन विभागले सहजीकरण गर्ने भएको छ ।

१५० दिन पुरा भएर निष्कासन हुने अवस्थाका पर्यटकलाई प्रस्थान विन्दुबाट नै भिसा नियमित गरेर प्रस्थान अनुमति दिने निर्णय गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । यसअघि विभागमा नै आउनुपर्ने व्यवस्था थियो ।
भदौ २३ सम्म म्याद सकिएका पर्यटकको हकमा कफ्र्यु भएसम्म १५० दिन कटेपनि काठमाडौँ बाहिरकै अध्यागमन कार्यालयबाट नियमित गर्न सकिने निर्णय गरिएको हो । काठमाडौँ बाहिर विभागको १७ वटा कार्यालय छन् ।
त्यस्तै, पासपोर्ट हराएका पर्यटकलाई सम्बन्धित दूतावासको यात्रा अनुमति पत्र वा आपतकालिन राहदानीको आधारमा भिसा स्थानान्तरण गर्ने निर्णय गरिएको छ ।



