झापा, भदौ २८ । बहुप्रतिक्षित मागलाई पूरा गर्दै नेपालको सीमासंग जोडिएको गलगलिया रेलवे स्टेशनमा चारवटा एक्सप्रेस रेलले स्टेण्ड लगाउने भएका छन् ।

त्योसंगै ठाकुरगंज रेलवे स्टेशनमा पनि दीघा जाने एक रेलले स्टेण्ड लगाउने घोषणा गरेको छ । ती रेलहरुले स्टेण्ड लगाउँदा नेपालको भद्रपुर ,बिर्तामोडसहित आसपासका मानिसहरुलाई दिल्ली , पटना र कोलकाता जानको लागि सुविधा पुग्ने भएको छ ।
भारतको रेलवे बोर्ड, रेलवे मन्त्रालयद्वारा जारी सूचना अनुसार सिलिगुडी – ठाकुरगंज – अलुआबाडी रेलखण्डअन्तर्गत गलगलिया रेलवे स्टेशनमा १५४६३÷१५४६४ बालुरघाट–सिलिगुडी जंक्शन एक्सप्रेस, १३२४५÷१३२४६ न्यू जलपाईगुडी – राजेन्द्र नगर एक्सप्रेस, १३२४७÷१३२४८ कामाख्या–राजेन्द्र नगर एक्सप्रेस, १५४८३÷१५४८४ अलीपुरद्वार–दिल्ली सिक्किम महानन्दा एक्सप्रेस तथा १३१४९÷१३१५० सियालदह–अलीपुरद्वार कंचन कन्या एक्सप्रेसलाई रोक्ने स्वीकृति दिइएको छ । यसका साथै गलगलिया रेलवे स्टेशनमा यस रेलखण्डमा संचालन भइरहेका प्रायः सबै रेलहरु रोकिने भएका छन् ।
त्यस्तै ठाकुरगंज रेलवे स्टेशनमा पनि १५७२१÷१५७२२ दीघा–न्यू जलपाईगुडी एक्सप्रेसले स्टेण्ड लगाउने घोषणा गरिएको छ । रेल बोर्डले ती रेलहरु रोकिने स्टेशनहरुमा टिकट बिक्रीमा कडाई गरिने जनाएको छ । सन्तोषजनक परिणाम आएपछि स्थायी रुपमै स्वीकृति प्रदान गरिने जनाइएको छ ।
गलगलिया रेलवे स्टेशनमा चार र ठाकुरगंज रेलवे स्टेशनमा एउटा एक्सप्रेस रेल रोक्ने निर्णयपछि ठाकुरगंज क्षेत्रका रेलयात्रीहरुले खुशी व्यक्त गरेका छन् ।